हुम्लामा २० प्रतिशतभन्दा बढी १९ वर्षमुनिका किशोरी सुत्केरी हुने गरेका छन् । उमेर नपुगी विवाह गर्दा सानै उमेरमा सुत्केरी हुने किशोरीको संख्यामा वृद्धि भएको हो ।
जिल्लाभर २०८२ साउनदेखि चैत मसान्तसम्म २५ प्रतिशत किशोरी १९ वर्षभन्दा कम उमेरमा सुत्केरी भएको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कले देखाएको छ । यो अवधिमा जिल्लाका सात ओटै गाउँपालिकामा ५ सय ९४ जना सुत्केरी भएका मध्ये १ सय ५० जना किशोरी १९ वर्षमुनिका रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाकी तथ्याङ्क सहायक दुर्गा श्रेष्ठले बताउनु भयो ।
अघिल्लो आर्थिक वर्ष ०८१/०८२ मा यो उमेर समूहका सुत्केरी हुने किशोरीको संख्या १ सय ३७ जना थियो भने त्योभन्दा अघिल्लो वर्षमा १ सय ७ जना थिए ।
२० वर्ष नपुग्दै सुत्केरी हुने किशोरीको संख्या सबैभन्दा बढी सिमकोट गाउँपालिकामा ४० जना रहेका छन् । पछिल्लो समय उमेर नपुग्दै विवाह गर्नेको संख्या घट्नु भन्दा झन् वृद्धि भएको श्रेष्ठले बताउनु भयो । उमेर नपुग्दै विवाह गरेर बच्चा जन्माउनुको मुख्य कारण अशिक्षा, गरिबी लगायतका विभिन्न समस्याले यस्ता घटनाहरू बढ्दो क्रममा रहेका छन् ।