खप्तडछान्ना गाउँपालिका–६ स्थित पाटादेवल स्वास्थ्य चौकीमा सुत्केरी भएका महिलाहरूले महिनौँदेखि सरकारले दिने सुत्केरी भत्ता पाउन सकेका छैनन् ।
स्थानीय रुपा थापा गएको भदौ महिनमा सोही स्वास्थ्य चौकीमा सुत्केरी हुनु भयो । प्रसूति सेवा लिएपछि उहाँले सुत्केरी तथा गर्भ जाँच बापतको भत्ता पाउने आशा गर्नुभएको थियो । तर, स्वास्थ्य संस्थाले खाता रोक्का भएको भन्दै उहाँलाई भत्ता नदिइ फर्कायो । गत असोज ३ गते सोही स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिनुभएकी पुजा खड्काको अनुभव पनि उस्तै छ । उहाँलाई पनि ‘खाता सञ्चालन भएपछि खबर गर्छौँ’ भन्दै रित्तै फर्काइएको थियो । उहाँले भन्नुभयो, ‘बारम्बार सोध्दा पनि अहिलेसम्म पैसा आएको छैन ।’
रुपा र पुजा मात्रै होइनन्, गत वर्षको साउन महिनादेखि पाटादेवल स्वास्थ्य चौकीबाट सेवा लिएका कुनै पनि सुत्केरी महिलाले भत्ता पाउन सकेका छैनन् । स्थानीयका अनुसार पाटादेवल र बयाना क्षेत्रका ११ जना सुत्केरी महिला भत्ता पाउनबाट वञ्चित भएका छन् ।
सरकारले स्वास्थ्य संस्थामा सुत्केरी भएका प्रत्येक आमालाई ३ हजार ८ सय रुपियाँ दिइरहेको छ । तर, उक्त सुविधा समयमै नपाउँदा विपन्न परिवारका आमाहरू पोसिलो आहारबाट वञ्चित भएका छन् । पाटादेवल स्वास्थ्य चौकीमा हाल स्वास्थ्य चौकी प्रमुख नहुँदा रकम निकासा प्रक्रिया प्रभावित भएको बताइएको छ । स्वास्थ्य चौकीको खाता व्यवस्थापन समितिका अध्यक्ष र स्वास्थ्य इन्चार्जको संयुक्त नाममा हुने भएकाले इन्चार्ज नहुँदा खाता सञ्चालन हुन सकेको छैन् ।
स्वास्थ्य चौकीका अहेव जितेन्द्र तेलीले रकम निकासा नभएकाले भत्ता वितरण हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरै जना बुझ्न आउनुहुन्छ, तर, खाता रोक्का भएकाले पैसा निकासा भएपछि खबर गर्छौँ भनेर फर्काउने गरेका छौँ । स्वास्थ्य इन्चार्ज सरुवा हुनुभयो । अहिले इन्चार्ज नहुँदा रकम निकासा भएको छैन ।’
कर्मचारी अभाव र प्रशासनिक ढिलासुस्तीका कारण स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउन प्रोत्साहन स्वरूप उपलब्ध गराइने भत्ता रोकिदा विपन्न परिवारका सुत्केरीहरुलाई सबै भन्दा धेरै समस्या परेको छ ।
स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष तेजबहादुर खड्काले गाउँपालिकाले स्वास्थ्य चौकीमा इन्चार्ज नपठाउँदा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरै पटक ताकेता गर्दा पनि कर्मचारी पठाइएन, त्यसैले भत्ता वितरण रोकिएको हो । इन्चार्ज नहुँदा पैसा निकासा नभएपछि उक्त रकम वितरण नभएको हो । कर्मचारी पठाउन पालिकामा माग गरेका छौँ ।’
पाटादेवल स्वास्थ्य चौकीका इन्चार्ज सरुवा भएर गएपछि पुनः पठाउने प्रस्ताव गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेन्द्रबहादुर रोकायाले बताउनुभयो । कर्मचारी अभावका कारण स्वास्थ्य चौकीमा तत्कालन कर्मचारी पठाउन नसकिएको र स्वाथ्य चौकीबाट सुत्केरीहरुलाई प्रदान गरिदै आएको प्रोत्साहन भत्ता के कती कारणले पाउन नसकेका हुन त्यससम्बन्धमा जानकारी लिने कार्य भइरहेको समेत उहाँले बताउनु भयो ।