INSEC Online

📅 २०८३ जेष्ठ २१

भवनको अभावमा एउटै कोठामा तीन कक्षाका विद्यार्थी राखेर पढाउनु पर्ने बाध्यता

घिरिङ गाउँपालिका–४ साभुङ कोटको राजपुर प्राविमा भवनको अभावमा एउटै कोठामा तीन ओटा कक्षा एकै ठाउँमा राखेर पढाउनु पर्ने बाध्यता रहेको छ ।

उक्त विद्यालयको एउटा कोठामा कक्षा १, २ र ३ का विद्यार्थीहरू राखेर पढाउनु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक डम्बरसिंह थापाले बताए । त्यसैगरी अर्काे एउटा कोठामा कक्षा ४ र ५ का विद्यार्थीलाई एकैठाउँमा राखेर पढाउनु परेको उनले बताए ।

चार ओटा मात्र कोठा रहेको उक्त विद्यालयको एउटा कोठामा कार्यालय रहेको छ भने एउटा कोठामा बालविकास केन्द्र सञ्चालन गरिएको छ ।

बाँकी दुई ओटा कोठामा बहुकक्षा शिक्षण पद्धतीको प्रयोग गर्दै तीन ओटासम्म कक्षा राखेर पढाउनु परेको शिक्षिका सावित्री बिकले बताइन् ।

एउटै कोठामा धेरै कक्षाको विद्यार्थी राखेर पढाउनु पर्दा विद्यार्थीहरूमा शिक्षण सिकाइ उपलब्धी नहुने उनले बताइन् ।

‘एउटा कक्षालाई पढाइरहँदा अर्काे कक्षाको विद्यार्थीले सोध्छन् । त्यसपछि अर्काे कक्षाकोले जबाफ दिन्छन्’–उनले भनिन्–‘हामीलाई पनि पढाउन निकै समस्या हुन्छ ।’

यस्तो अवस्थामा पाठ्यपुस्तक भन्दा पनि विषय मिल्ने पाठ्यक्रमलाई जोड दिएर पढाउने गरेको शिक्षिका बिकले बताइन् ।

तीन जना शिक्षक रहेको उक्त विद्यालयमा कक्षा ४ र ५ को लागि एकै जना शिक्षकले पढाउँछन् भने कक्षा १, २ र ३ को लागि भने दुई जना शिक्षक÷शिक्षिका नै जानु पर्ने बाध्यता भएको अर्की शिक्षिका मनकुमारी श्रेष्ठले बताइन् ।

कक्षा ५ की छात्रा मनीषा थापाले अर्काे कक्षाका विद्यार्थीहरूसँग एकै ठाउँमा बसेर पढ्नु पर्दा खासै उपलब्धि नभएको बताइन् ।

त्यसैगरी कक्षा ४ की छात्रा लक्ष्मी परियारले पनि दुई ओटा कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाउँदा रमाइलो भएपनि उपलब्धि भने नभएको बताइन् । सो विद्यालयमा २१ जना विद्यार्थी अध्ययनरत छन् ।

जिल्ला शिक्षा विकास तथा समन्वय एकाई तनहँुका प्रमुख दामोदर आचार्यले उक्त विद्यालयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाईले नयाँ भवन बनाउन लागेको हुँदा उक्त भवन बनेपछि कक्षा कोठाको अभाव नहुने बताए ।

अन्य

भिडियो