हुम्लाका दुई गाउँपालिकाका केही वडाका नागरिकहरु नागरिकता लगायतका आवश्यक सिफारिस लिन ६ देखि १२ घण्टासम्म पैदल हिँड्न बाध्य भएका छन्। वडा कार्यालय र बस्तीबीचको दूरी टाढा हुँदा स्थानीयले सरकारी सेवा लिन सास्ती खेप्नुपरेको हो।
ताँजाकोट गाउँपालिका–३ स्थित मासपुर गाउँका स्थानीय परिमल बुढाले नागरिकताको सिफारिस लिन वडा कार्यालयमा पुग्नै १२ घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको बताउनु भयो । ‘वडा कार्यालय अर्को बस्तीमा छ, हाम्रो गाउँ निकै टाढा पर्छ,’उहाँले भन्नुभयो, ‘नागरिकता सिफारिस, प्रतिलिपि, राष्ट्रिय परिचयपत्रलगायत कागजातका सिफारिस लिन निकै दुःख हुन्छ।’
मासपुरमा २२ घरधुरी रहेका छन्। यहाँका स्थानीयले कुनै पनि सिफारिस लिन जाँदा ९ देखि १२ घण्टासम्म पैदल हिँड्नुपर्छ भने सबै प्रक्रिया पूरा गर्न करिब तीन दिन समय लाग्ने गरेको छ।
यस्तै, सर्केगार्ड गाउँपालिका–१ को तुम्च गाउँका स्थानीयले पनि उस्तै समस्या भोगिरहेका छन्। स्थानीय प्रकाश मल्लका अनुसार वडा कार्यालय रहेको जैर गाउँ पुग्न ६ घण्टा उकालो बाटो हिँड्नुपर्छ।
‘संघीयता आएपछि गाउँमै सेवा पाइन्छ भनिएको थियो, तर हामीले त्यसको अनुभूति गर्न सकेका छैनौं,’मल्लले भन्नुभयो । उहाँले सेवा घरघरमा पुर्याउने व्यवस्था मिलाउन गाउँपालिका र वडा कार्यालयलाई पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको बताउनु भयो।
सर्केगार्ड गाउँपालिका–१ का कार्यवाहक वडा अध्यक्ष उव्जन मल्लले स्थानीयले सरकारी सेवा लिन कठिनाइ भोगिरहेको स्वीकार गर्नुभयो । ‘हामीले दुर्गम तथा पिछडिएको क्षेत्रका लागि आवश्यक केही सिफारिस दिन्छौं,’ उहाँले भन्नुभयो, ‘तर नागरिकता, प्रतिलिपि र राष्ट्रिय परिचयपत्रसम्बन्धी सिफारिस वडा कार्यालयबाटै दिनुपर्ने भएकाले यहाँबाट सम्भव छैन।’
तुम्च गाउँमा १ सय ७ घरधुरी रहेका छन्। ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले भौगोलिक विकटताका कारण तत्काल समस्या समाधान गर्न कठिन रहेको बताउनु भयो । ‘भौगोलिक हिसाबले निकै चुनौतीपूर्ण क्षेत्र भएकाले अहिलेका लागि तत्काल समाधान गर्न सकिने अवस्था छैन,’उहाँले भन्नुभयो ।