INSEC Online

📅 २०८३ जेष्ठ २१

जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको विवरण सार्वजनिक

सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको सूचीकृत सम्पन्न गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पछिल्लो पटक थप २२ जनाको नाम समावेश गर्दै जेनजी आन्दोलनमा घाइतेको सूचीकृत सम्पन्न गरेको हो ।

पछिल्लो पटक प्राप्त २ सय ५० जनामध्ये २२ जना मात्र घाइतेको नाम सूचीकृत गरेसँगै जेनजी आन्दोलनमा घाइतेको विवरण सार्वजनिक गरिएको स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयको मापदण्डअनुसार जेनजी आन्दोलनका क्रममा घाइतेको सङ्ख्या २ हजार ६ सय ६० पुगेको छ ।

“निर्वाचनपछि नयाँ सरकार बनेपछि थप हामीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र अन्य ठाउँबाट २ सय ५० जनाको नाम आएको थियो,” उहाँले भन्नुभयो, “तर मन्त्रालयको मापदण्डअनुसार २२ जना मात्र घाइतेको प्रमाणीकरण गरी सूचीकृत गरिएको हो ।” केन्द्रका प्रमुख डा. बुढाथोकीले ती २२ जनाको नाम गत भदौ २३ र २४ गतेको अस्पतालमा भएको ‘रेकर्ड’ र अस्पतालको प्रमुखले प्रमाणीकरण पठाएपछि मात्र मन्त्रालयले प्रमाणीकरण गरी सूचीकृत गरेको बताउनुभयो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभरिका ९९ अस्पतालमा घाइतेको उपचार भएको थियो । नयाँ प्रमाणीकरण भएका २२ जनाको नाम गृहमन्त्रालयमा पठाइएको उहाँले बताउनुभयो । जेनजी घाइतेहरूले अध्ययन गर्न कोटा, जागिर र उपचार पाउने गर्दछन् ।

रासस

अन्य

भिडियो