INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचारका क्रममा महिलाको मृत्यु: भेरी अस्पतालमा तनाव, ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा ६२ वर्षीया एक महिलाको मृत्यु भएपछि उत्पन्न विवादले अस्पतालको ओपीडी सेवा अनिश्चितकालका लागि प्रभावित भएको छ।

बैजनाथ गाउँपालिका–६ लालपुर अठ्ठाइस विगाहकी दिलसरा विकको ०८३ वैशाख १३ गते उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्त र अस्पताल प्रशासनबीच विवाद बढेको हो। मृतकका आफन्तले उपचारमा लापरवाही भएको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन्।

मुटु सम्बन्धी समस्याका कारण वैशाख ३ गते तेजस्वी हर्ट एण्ड मल्टी स्पेशलिटी सेन्टर, नेपालगञ्जमा भर्ना गरिएकी विकलाई डाक्टर विकास नेपालले वैशाख ६ गते थप उपचारका लागि भेरी अस्पतालमा रिफर गर्नुभएको  थियो। तर उपचारका क्रममा लापरवाही भएको कारण मृत्यु भएको आरोप मृतकका छोरा सुरेश कामीले लगाएका छन्।

घटनापछि वैशाख १४ गते बाँके निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारसहित पीडित पक्ष र अस्पताल प्रशासनबीच छलफल भएको थियो। छलफलका क्रममा अस्पतालका प्रमुख डा. निराजन सुवेदीले रिपोर्ट अध्ययनपछि मात्र निष्कर्षमा पुग्न सकिने बताउँदै दोषी देखिएमा कारबाही गर्ने मौखिक सहमति जनाएका थिए।

यद्यपि, वैशाख १५ गते बिहान पुनः दुवै पक्षबीच भनाभन हुँदा स्थिति तनावग्रस्त बनेको हो। विवादका क्रममा चिकित्सकमाथि हातपात भएको भन्दै अस्पताल प्रशासनले असुरक्षा महसुस गरेको जनाएको छ। त्यसपछि अस्पतालले ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरेको हो।

शवको पोष्टमार्टम वैशाख १५ गते भएपछि मृतकका आफन्तले शव बुझी सद्गत गरे। घटनाका कारण अस्पतालको नियमित सेवा प्रभावित हुँदा सर्वसाधारण बिरामीहरू मर्कामा परेका छन्। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने माग सबै पक्षबाट उठिरहेको छ।

ध्रुबराज शर्मा

अन्य

भिडियो