१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत सिरहाले ०८३ वैशाख १० गते घटनाका आरोपित १३ वर्षीय बालकलाई १० वर्ष कैद र ५ लाख रुपियाँ जरिवानाको फैसला गरेको छ ।
त्यसैगरी बलात्कार गर्न सहयोग गरेको कसुरमा १४ र १५ वर्षीय बालकलाई जनही १ वर्ष ५ महिना कैद र १२ हजार ५ सय रुपियाँ जरिवानाको फैसला गरेको हो ।
बलात्कार घटनालाई गाउँमा छलफल गरी मिलापत्र गरेको कसुर ठहर गरी नवराजपुर गाउँपालिका–१ का वडा सदस्य ४६ वर्षीय नथुनी साहलाई १४ महिना कैद र ७ हजार रुपियाँ जरीवाना र ५५ वर्षीय रामकृपाल मण्डल, ४१ वर्षीय विन्देश्वर साह र ४८ वर्षीय राजेन्द्र मण्डल, ४५ वर्षीय कारी सदाय, ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र ४५ वर्षीय कमलेश दास र रामदेव सदायलाई जनही ८ महिना कैद र जनही ७ हजार रुपियाँ जरिवानाको फैसला जिल्ला अदालतका न्यायाधिश डाक्टर प्रकाश उप्रेतीको एकल इजलाशले फैसला गरेको हो ।
बालिकालाई २०८१ माघ २७ गते नवराजपुर गाउँपालिका–१ का १३ वर्षीय बालक, १४ र १५ वर्षीय बालकले अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको र सो घटनालाई पञ्चायती बसी मिलापत्र गराएको र आरोपितहरुलाई पंचायतले १ लाख ४० हजार रुपियाँ जरिवाना गरेको आरोप थियो ।
पञ्चायती पछि पीडित बालिकाले माघ ३० गते घरमै आत्महत्या गरेकी थिइन् । ईलाका प्रहरी कार्यालय लहानमा आत्महत्या दुरुतसाहनमा उजुरी दिए पनि पुरक उजुरी अपहरण गरी आफ्नो नियन्त्रणमा राखी सामूहिक बलात्कार गरी हत्या गरेको र उक्त घटना पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गर्न खोजेको अन्तर्गतको कसुरमा २०८१ फागुन ८ गते दिएको मृतककी आमाले बताएकी थिइन् ।
पञ्चायत गरेर मिलापत्र गराएको कसुरमा नवराजपुर गाउँपालिका–१ का वडा सदस्य ४६ वर्षीय नथुनी साह, ५५ वर्षीय रामकृपाल मण्डल, ४१ वर्षीय विन्देश्वर साह र ४८ वर्षीय राजेन्द्र मण्डल, ४५ वर्षीय कारी सदाय विरुद्ध पीडितकी आमाले उजुरी दिएकी थिइन् । सवको पोष्टमार्टम धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फागुन ३ गते भएको थियो ।
इलाका प्रहरी कार्यालय लहानले उक्त घटालाई पंचायत गरेर मिलापत्र गरेको आरोपमा नवराजपुर गाउँपालिका–१ का ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र ४५ वर्षीय कमलेश दासलाई २०८१ फागुन ११ गते गिरफ्तार गरेको थियो भने बलात्कार घटनाका अरोपित १३ वर्षीय बालकलाई फागुन २१ गते गिरफ्तार गरेको थियो ।
त्यसैगरी उक्त घटनालाई पञ्चायत गरेर मिलापत्र गरेको आरोपमा नवराजपुर गाउँपालिका–१ का वडा सदस्य ४६ वर्षीय नथुनी साह, ५५ वर्षीय रामकृपाल मण्डल, ४१ वर्षीय विन्देश्वर साह र ४८ वर्षीय राजेन्द्र मण्डललाई ०८१ फागुन २३ गते गिरफ्तार गरेको थियो ।
जिल्ला अदालतको आदेशमा ०८१ चैत १२ गते आरोपित बालकलाई संरक्षकको जिम्मा, वडा सदस्य नथुनी साहलाई पुर्पक्षको लागि थुनामा, रामविनोद मण्डल र कमलेश दासलाई साधारण तारेखमा र रामकृपाल मण्डल, कारी सदा, विन्देश्वर साह र रामदेव सदालाई जनही १ लाख ५० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशले उक्त घटनाकोे २०८१ फागुन ३ र ४ गते स्थलगत अनुगमन गरेको थियो ।
इन्सेकद्वारा गठित मानव अधिकार सहायता कक्षले पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेको र न्यायका लागि सहयोग पुग्ने उद्देश्यले २०८१ फागुन ९ गते पीडित परिवारलाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको थियो ।