गर्भपतन गराउँदा चिकित्सकीय लापरवाहीका कारण मृत्यु भएको भनिएकी २९ वर्षीया गीता पाण्डेय प्रकरणमा नेपाल मेडिकल काउन्सिलले उपचारमा संलग्न डा. शतिस कुमार रूपाखेतीलाई निलम्बन गरेको छ।
काउन्सिलको वैशाख १२ गते बसेको अनलाइन बैठकले छानबिन समितिको सिफारिसका आधारमा अन्तिम प्रतिवेदन नआएसम्मका लागि रूपाखेतीलाई निलम्बन गर्ने निर्णय गरेको रजिष्टार डा. शतिस कुमार देवले जानकारी दिए। काउन्सिलका अनुसार चिकित्सकलाई ‘चिकित्सकहरूको आचारसंहिता २०१७’ अनुसार बिरामी जाँचमा रोक लगाइएको हो।
प्रारम्भिक छानबिनले पाण्डेयको उपचारमा संलग्न जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिक दुवैले आवश्यक स्वीकृति बिना सेवा सञ्चालन गरेको देखाएको छ। काउन्सिलले ती संस्थाहरू बन्द गराउन जिल्ला प्रशासनलाई अनुरोध गर्ने र संलग्न स्वास्थ्यकर्मीमाथि कारबाही सिफारिस गर्ने निर्णय गरेको छ।
समितिको २६ पृष्ठीय प्रतिवेदनले उपचारका प्राविधिक त्रुटिदेखि संस्थागत कमजोरीसम्म औंल्याउँदै अनुगमन सुदृढ गर्न, गैरकानुनी रूपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्था दर्ता तथा नियमन गर्न सुझाव दिएको छ। साथै, बुटवल क्षेत्रमा अनुमति बिना क्लिनिक सञ्चालन र तोकिएको भन्दा बढी सेवा दिने प्रवृत्ति रहेको निष्कर्ष पनि निकालेको छ।
काउन्सिलले थप छानबिन र नेपाल प्रहरीको अनुसन्धानलाई आधार मानेर अन्तिम निर्णय लिने जनाएको छ। छानबिनबाट फौजदारी अभियोगसमेत आकर्षित हुन सक्ने बताइएको छ।
पाल्पाको बगनासकाली–२ कि पाण्डेयको १२ हप्ताभन्दा बढीको गर्भपतन गराउने क्रममा वैशाख ६ गते मृत्यु भएको थियो। घटनापछि काउन्सिलले डा. सम्राट पराजुलीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।