सुनकोशी गाउँपालिका–३ का २२ वर्षीय कृष्ण वि.क. प्रहरी हिरासतमा ०८३ बैशाख ७ गते मृत फेला परेको घटनालाई लिएर मृतकको परिवारले गम्भीर शंका व्यक्त गर्दै निष्पक्ष न्यायिक छानबिनको माग गरेको छ । मृतककी आमा विन्दामाया वि.क.ले वैशाख ९ गते प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो छोराको मृत्यु ‘आत्महत्या’ नभई प्रहरी यातनाका कारण भएको दाबी गर्नु भएको छ ।
विज्ञप्तिअनुसार कृष्ण वि.क.लाई २०८३ वैशाख ३ गते सातदोबाटो प्रहरी चौकीले खोटाङ घर भएकी १८ वर्षीया बालिकासँग बालविवाह गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । त्यसपछि उहाँलाई मिलापत्रका लागि इलाका प्रहरी कार्यालय खुर्कोट पठाइएको बताइएको छ।
परिवारले घटनाबारे आफूहरूले वैशाख ५ गते मात्र जानकारी पाएको बताएका छन् । मृतककी आमाका अनुसार प्रारम्भमा बालविवाहको विषयमा गिरफ्तार गरिएको भए पनि पछि प्रहरीले दबाब दिई जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गराएको थियो । “बालविवाहको मुद्दा हुँदा हुँदै जबरजस्ती करणीको मुद्दा किन दर्ता गरियो भन्ने विषय निकै रहस्यमय छ,” विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी हिरासतमा रहेका बेला कृष्णलाई मानसिक तथा शारीरिक यातना दिइएको र बलात्कार गरेको स्वीकारोक्ति दिन दबाब दिइएको पनि परिवारको आरोप छ । आरोपित बि.कलाई भेट्न गएका व्यक्तिहरूसँग उहाँले यस्तो गुनासो गरेको जानकारी आफूहरूले पाएको विन्दामायाले बताउनु भएको छ ।
मृतक कृष्णले हिरासतको शौचालयमा सर्टको पासो लगाई ०८३ वैशाख ७ गते साँझ करिब ४ बजे आत्महत्या गरेको भन्ने प्रहरी दाबीलाई परिवारले अस्वीकार गरेको छ । “पुरानो कपडाको सर्टले मानिस झुण्डिन सक्दैन, यस्तो दाबी विश्वसनीय छैन,” बि.क की आमाको भनाइ छ।
परिवारले मृतकसँग सम्बन्धित व्यक्तिहरूसँग भेटघाट गर्न नदिएको, घटनास्थल अवलोकन गर्न नदिएको तथा मृत्युबारे ढिलो जानकारी गराइएको पनि गुनासो गरेको छ । विज्ञप्तिअनुसार घटनाको जानकारी परिवारलाई राति १० बजे मात्र दिइएको थियो । हाल मृतकको शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । परिवारले न्यायिक छानबिन नभएसम्म पोष्टमार्टम तथा दाहसंस्कार नगर्ने अडान लिएको छ । तर, स्थानीय प्रशासनले शव बुझेर छिट्टै अन्त्येष्टि गर्न दबाब दिएको पनि आरोप लगाइएको छ।
विन्दामाया वि.क.ले आफ्नो पति दलबहादुर वि.क.को ९ महिना अघि आत्महत्या भएको उल्लेख गर्दै आफू एकल महिला भएको अवस्थामा प्रहरीले गरेको व्यवहारले थप शंका उत्पन्न भएको बताउनु भएको छ ।
घटनाको निष्पक्ष छानबिनका लागि स्वतन्त्र न्यायिक आयोग गठन गरी दोषीमाथि कडा कारबाही गर्न परिवारले सरकार र सरोकारवालासमक्ष माग गरेको छ ।