ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता सरकारले बैङ्कमार्फत भुक्तानी गर्न थालिएपछि ज्येष्ठ नागरिकलाई सास्ती भएको छ ।
सामाजिक सुरक्षा बापतको भत्ता लिन ज्येष्ठ नागरिकले सवारी साधन नहुँदा घण्टौँ हिँडेर बैङ्कमा पुगेर भत्ता बुझ्दा आपूmहरूलाई सास्ती भएको ज्येष्ठ नागरिकहरुको गुनासो छ ।
भत्ताको नाउँमा आफूहरूलाई दुःख दिएको मङ्गलसेन नगरपालिका–१ कुन्तीबण्डालीका का ८५ वर्षीय गोपाले थापाको भनाई छ ।
जनता बैङ्क मङ्गलसेनमा दिउँसो २ बजेतिर भेटिएका थापा सबैरै हिँडेर मङ्गलसेन आइपुगेको बताए । स्टेचरमा बोकेर ल्याइएकी मङ्गलसेन नगरपालिका–४ की अम्बा केसी आफूजस्ता अशक्तलाई घरमै भत्ता दिएमा सहज हुने बताउँछन् । घर नजिकै भत्ता पाएमा आफूलाई बोकेर ल्याउन मान्छे खोज्न नपर्ने भनाई केसीको छ ।
गाविस हुँदा घर नजिकै कर्मचारी आएर दिने भएपनि नगरपालिका भएपछि बैङ्कमा आउनुपर्ने भएपछि सास्ती भएको छ । मङ्गलसेन नगरपालिकाकै ७४ वर्षीय कोरे दमाई घर नजिकै आएर भत्ता दिएमा आफूलाई सास्ती नहुने बताउँछन् ।
“बुढाबुढीलाइ हिँडेर गइ भत्ता ल्याउन भनेको कारवाही गर्नु हो ।”–कोरेले बताए । कमलबजारको सेरा र वयालाको तल्लो छेउबाट बैङ्कमा पुग्न स्वस्थ युवालाई एक दिनको पैदल दुरी रहेको बताइएको छ ।
कमलबजार नगरपालिका–७ छणानदेवीबाट भत्ता लिन कमलबजारस्थित बैङ्कमा पुग्न झण्डै एक दिन समय लाग्ने सोही वार्डका धन कामीको भनाई छ ।
ज्येष्ठ नागरिकहरूलाई बैङ्कमा खाता खोल्नदेखी, चेक बनाउन, औँठा छाप वा सही गर्न, लाइनमा उभिन, भुक्तानी लिन सास्ती हुने गरेको बताउने गरेका छन् ।
भत्ताको रुपियाँ लिन स्वयम् व्यक्ति बैङ्कमा पुग्नुपर्ने बाध्यताका कारण ज्येष्ठ नागरिकलाई सास्ती भएको कमलबजार नगरपालिका–७ सेराका भीम खतिवडाको भनाई छ ।
सामाजिक सुरक्षा भत्ताको सही व्यक्तिमा सदुपयोगको लागि बैङ्क प्रणालीमा भुक्तानी सुरू गरिएको कमलबजार नगरपालिकाको भनाई छ ।
मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा सामाजिक सुरक्षा भत्ता वितरण अझ सहज बनाउने बताउँछन् । समस्या भएमा घरमै पुगेर भत्ता वितरण गर्न सकिने प्रमुख बोहराको भनाई छ ।
घरबाट आउन नसक्नेलाई अगामी दिनमा घरमै गएर भत्ता दिने कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकाश विष्टको भनाई छ ।
कमलबजार नगरपालिकामा एकमात्र प्रभु बैङ्क छ भने मङ्गलसेनमा पाँच ओटा बैङ्क रहेका छन् । मङ्गलसेन नगरपालिकाबाट ज्येष्ठ नागरिक, पोषण, एकल महिलालगायतका ७ हजार बढीले भत्ता पाउने गरेका छन् ।