केही दिनअघि सडक छेउमा अलपत्र अवस्थामा भेटिएकी धुर्कोट गाउँपालिकाकी चार वर्षीया बालिकाको अवस्था अझै अनिश्चित बनेको छ।
बालिकाका बुबा मादक पदार्थ सेवनका कारण सडकमा लडेको र उनीसँगै बसेकी बालिकाको बिक्षिप्त अवस्थाको भिडियो २०८२ चैत १९ गते सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसपछि बाबुछोरी केही समय सम्पर्कविहीन बनेका थिए।
चौतर्फी दबाबपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले चैत २५ गते बाग्लुङको गलकोटबाट बाबुछोरीलाई उद्धार गरेको थियो।
हाल बालिका तम्घासस्थित अमरकल्याण सामुदायिक महिला सेवा केन्द्रको संरक्षणमा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो। बालिकाका बुबालाई भने जिल्ला बाहिरको सुधारगृहमा पठाइएको छ।
बालिकाका आमाबुबाले अन्तरजातीय विवाह गरेका थिए। बालिकाकी आमाले करिब दुई वर्षअघि आत्महत्या गरेकी थिइन्। त्यसयता परिवार तथा आफन्तले हेरचाह गर्न नमानेपछि बालिकालाई संरक्षणगृहमा राखिएको हो।
केन्द्रका अनुसार बालिका सानो उमेरकी भएकाले विशेष हेरचाह आवश्यक भए पनि बजेट अभावका कारण लामो समयसम्म संरक्षण दिन कठिन भइरहेको छ। अमरकल्याण महिला विकास सहकारी संस्थाकी व्यवस्थापक अन्जु पन्थीले सीमित स्रोतका बीच बालिकाको हेरचाह भइरहेको बताउनुभयो।
धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बालिकाको उमेर, सामाजिक संवेदनशीलता र भविष्यलाई ध्यानमा राख्दै राज्यका व्यवस्थित संस्थामार्फत दीर्घकालीन संरक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।