INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिष्ठानका चिकित्सक आन्दोलित हुँदा पठनपाठन प्रभावित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको छ । चिकित्सकले तीन दिनदेखि प्रतिष्ठानमा विभिन्न माग राख्दै आन्दोलित भएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको हो । परीक्षा र अभ्यास शिक्षण भइरहेपनि एक सातादेखि अध्ययन—अध्यापन बन्द भएको छ । प्रतिष्ठानको डिनको कार्यालयमा चैत ३० गते तालाबन्दी गरिएको थियो । जसले गर्दा भारतदेखि देशभरका विभिन्न ठाउँबाट पठनपाठनका लागि प्रतिष्ठानमा पुगेका विद्यार्थीको अध्ययन प्रभावित भएको छ । प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी विजय रावलले भन्नुभयो ‘एक सातादेखि पठनपाठन भइरहेको छैन । दैनिक कलेज आउने र फर्किने काम भइरहेको छ ।’ विवाद छिटो समाधान गरेर नियमित पठनपाठनको वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । प्रतिष्ठानका धेरैजसो पदाधिकारी काम विशेषले जिल्ला बाहिर अर्थात काठमाडौंमा छन् । यता चिकित्सकको आन्दोलन चलिरहेको छ ।

प्रतिष्ठानमा कार्यरत स्थायी चिकित्सकले माग सम्बोधन नभएपछि डिन कार्यालयमा तालाबन्दी गरेका हुन् । आन्दोलनरत चिकित्सक डा. रविन खापुङका अनुसार पटक–पटक संवाद र सहकार्यमार्फत समाधान खोज्ने प्रयास गरिएपनि व्यवस्थापन पक्षबाट बेवास्ता भइरहेको छ । उहाँले भन्नुभयो, ‘शान्तिपूर्ण ढंगले माग राखेका थियौं । तर, सुनुवाई नै नभएपछि तालाबन्दी गर्नु परेको हो ।’

फ्याकेल्टीहरू अनावश्यक प्रशासनिक बोझ तथा असहज कार्य वातावरणका कारण प्रभावकारी रूपमा काम गर्न असमर्थ भइरहेको चिकित्सकको उहाँको भनाइ छ । ‘यस अवस्थालाई सम्बोधन गर्नु अस्पताल प्रशासनको तत्कालको दायित्व हो भन्ने हामी ठान्दछौं,’ उहाँले थप्नुभयो ।

उपलब्ध योग्य फ्याकेल्टीहरूबाटै शैक्षिक पदहरूको नियुक्ति गर्नुपर्ने, विगत १० वर्षदेखि तलबमा कुनै वृद्धि नभएको सन्दर्भमा मुद्रास्फीर्तिको प्रभावलाई ध्यानमा राखी उचित तलब वृद्धि गर्नुपर्ने, कार्यसम्पादनमा आधारित करारको कार्यान्वयन गर्नुपर्ने, जुम्ला आवतजावतको कठिनाइ तथा उडान ढिलाइ/रद्द हुने अवस्थालाई मध्यनजर गर्दै ‘बाटो म्याद बिदा’को व्यवस्था गर्नुपर्ने, फ्याकेल्टी सम्बन्धी समस्याहरू उठान तथा समाधान गर्न प्रभावकारी रूपमा काम गर्नुपर्ने र फ्याकेल्टी विकास समिति गठन तथा सक्रिय बनाउनुपर्ने चिकित्सकहरुको माग छ ।

चिकित्सकले जारी गरेको विरोध वक्तव्यमा भनिएको छ– ‘आन्दोलनका कारण विद्यार्थीहरू तथा सेवाग्राहीहरूलाई असहजता र असुविधा भएको छ । यसप्रति हामी हार्दिक क्षमायाचना व्यक्त गर्दछ । तथापि, आफ्ना आधारभूत हक र व्यावसायिक सम्मानका लागि आवाज उठाउनु हाम्रो बाध्यता बनेको छ ।

हामी अझै पनि संवाद र सहमतिबाट समाधान खोज्न इच्छुक र सम्बन्धित निकायलाई शीघ्र पहल गर्न आग्रह गर्दछ ।’

प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले चिकित्सकहरूको माग तत्काल सम्बोधन गर्न कठिनाइ रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘लोकसेवा आयोग मार्फत बढुवा लिने विकल्प भएपनि तत्कालका लागि त्यसको वातावरण बनिसकेको छैन । चिकित्सकहरुले माग गरेजस्तो थप जिम्मेवारी दिने प्रावधान कानुनमा नभएकाले समस्या भएको हो । यसको उचित समाधान खोजिरहेका छौं ।’

मानदत्त रावल

अन्य

भिडियो