INSEC Online

📅 २०८३ जेष्ठ २१

साइपालको काँडामा खाद्यान्न अभाव हुँदा स्थानीय समस्यामा

साइपाल गाउँपालिका–३ काँडा र जिमामा दुई सातादेखि खाद्यान्न अभाव भएपछि यस क्षेत्रका स्थानीयहरुलाई समस्या भएको छ । १ सय ७० घरधुरी बसोबास रहेको यस वडामा चामल अभाव भएपछि स्थानीयले दैनिक गुजारा चलाउनै कठिन भएको गुनासो गरेका छन् । दुई सातादेखि गाउँमा चामल नपाउँदा दैनिक जीवन कष्टकर बनेको स्थानीय प्रेम बोहराले बताउनु भयो । उहाँले भन्नुभयो, ‘घरमा भएको अन्न सकियो, बजार टाँढा छ, पैसा हुनेले बजारबाट किनेर ल्याउछन् । आर्थिक अवस्था दयनीय भएका परिवारले भोकै बस्नु पर्ने बाध्यता छ ।’
अर्का स्थानीय हर्जित बोहराले पनि समयमै चामल नपुग्दा समस्या बढेको बताउनु भयो । उहाँले भन्नुभयो,‘सरकारले पठाएको चामल नै समयमा नआउँदा हामीले दुःख पाएका छौँ । बालबालिका र बृद्धबृद्धाहरू बढी समस्यामा छन् ।’ स्थानीय तह, वडा कार्यालय र ठेकेदारबीचको समन्वय अभावका कारण खाद्यान्न संकट चुलिएको स्थानीयको आरोप छ । समयमै आपूर्ति र निष्पक्ष वितरण हुन पर्ने स्थानीयहरुको माग रहेको छ ।

ठेकेदारको मनोमानी ढङ्गले चामल ढुवानी गर्दा समस्या उत्पन्न भएको गाउँपालिकाको आरोप छ । तर, ठेकेदार राजेन्द्रबहादुर धामीले भने गाउँपालिकासँगको सम्झौता अनुसारकै चामल ढुवानी गरिसकेको दाबी गर्नुभएको छ । साइपाल गाउँपालिकाका पाँच ओटै वडाका लागि २ हजार क्विन्टल चामल ढुवानी गर्ने सम्झौता भएको र सोही अनुसार आपूर्ति गरिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘केही महिना अघि ढुवानी गरिएको चामल वडा कार्यालयहरूले वितरण गरिसकेपछि वडा नम्बर ३ मा केही रकम भुक्तानी नभएकाले समस्या देखिएको हो । अहिले थप २ हजार क्विन्टल चामलको माग आएको छ । सिफारिस प्रक्रियामा ढिलाइ हुँदा आपूर्ति ढिलो भएको हो । धनगढीबाट चामल मगाइसकेका छौँ ।’

यता वडा नं. ३ का अध्यक्ष गोरख बोहराले भने वडाले वितरण गरेको चामलको सबै रकम ठेकेदारलाई बुझाइसकेको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो,‘जनसंख्या अनुसार नभएर वडा अनुसार चामल वितरण हुँदा अभाव भएको हो ।’ गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले खाद्यान्न अभावको जानकारी पाउनासाथ थप चामल ढुवानीको व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ठेकेदारलाई जिम्मा दिइसकेका छौं, केहि दिनमा पुग्छ ।’

सत्यराज सिंह

अन्य

भिडियो