INSEC Online

📅 २०८३ जेष्ठ २२

साढे दुई वर्षदेखि औषधालय डाक्टरविहीन, सेवाग्राही मर्कामा

कर्णाली आयुर्वेद औषधालय साढे दुई वर्षदेखि डाक्टरविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । डाक्टर रमेश केसी ०७२ मङ्सिरमा सरूवा भएपछि केही महिनापछि डाक्टर विवेक गुप्ता अस्थायी रूपमा आएपनि नियमित एक महिना काम नगरेरै गएपछि औषधालय डाक्टरविहीन अवस्थामा रहेकाले सेवाग्राही मर्कामा परेका हुन् ।

वरिष्ठ वैद्य नन्दप्रसाद न्यौपानेको भरमा औषधालय चलिरहेको छ । सामान्य बिरामी आएमा सजिलै उपचार गराउनेदेखि औषधि दिनेसम्मको काम गर्न सकिएको भएपनि जटिल प्रकृतिका बिरामी आएमा निकै समस्या हुने गरेको आयुर्वेद वरिष्ठ वैद्य न्यौपानेले बताए ।

औषधालयमा डाक्टर नभएपछि शल्याक्रियाका काम हुन नसकेको बताए । उनले भने–‘न्यूनतम शुल्कमा पाइल्स, घाउखटिराका शल्यक्रिया गर्ने गरेका थियौँ । अहिले डक्टर नभएपछि त्यो काम हुन सकेको छैन ।’

उनले भने–‘आयुर्वेद विभागमा पटकपटक पत्रचार गरेर डाक्टर पठाइदिन माग गरेका छौँ । अहिलेसम्म सुनुवाइ भएको छैन ।’

वरिष्ठ वैद्य न्यौपानेका अनुसार चिकित्सकीय सेवा र सामान्य स्वास्थ्यकर्मीले दिने सेवामा धेरै फरक हुन्छ । ‘त्यसैले पनि डाक्टर पठाइदिन बेलाबेलामा ताकेता गरेका छौँ । तर, पनि विभागले सुनुवाइ गरेको छैन ।’–वैद्य न्यौपानेले भने ।

हाल कर्णाली अञ्चल आयुर्वेद औषधलायमा पाँच जना कर्मचारी कार्यरत छन् । एक जना वैद्य, एक जना आयुर्वेद सहायक, एक जना सहलेखापाल र दुई जना कार्यालय सहयोगी छन् ।

औषधालयमा दैनिक १५ देखि २० जनासम्म बिरामीहरू उपचार गराउनका लागि आउँछन् । समयमा औषधि आउदैन, औषधिका लागि न्यून बजेट विनियोजन गरिएकाले समस्या हुने गरेको छ ।

धेरै जसो अमलपित्त, श्वासप्रश्वास, जण्डिस, स्त्रीरोग, पाइल्स, वाथ, मुत्रविकार, छालासम्बन्धीका बिरामी उपचारका लागि आउने गर्दछन् । कमलपित्त र श्वासप्रश्वासका बिरामी सबैभन्दा बढी आउने गरेको औषधालयले जनाएको छ ।

अन्य

भिडियो