हुम्लाका दक्षिणी क्षेत्रका दुई वटा गाउँपालिकामा नुनको अभाव भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ढुवानी अनुदानको नुन ढुवानी गर्ने जिम्मा पाएको कम्पनीले समयमा ढुवानी नगर्दा ताँजाकोट र अदानचुली गाउँपालिकामा नुनको अभाव भएको हो ।
ताँजाकोट गाउँपालिका–३ का स्थानीय झुल शाहीले साल्ट ट्रेडिङले ढुवानी अनुदानको नुन ढुवानी गर्न ढिलाइ गरेका कारण नुनको अभाव भएको बताउनु भयो । एक वर्ष अगाडी पाएको नुन सकिएको र यस वर्षको नुन ढुवानी भइ नसकेका कारण अभाव भएको स्थानीय शाहीले गुनासो गर्नुभयो ।
साल्ट ट्रेडिङले नुन ढुवानी गर्न नसक्दा उपभोक्ताले बजारमा प्रतिकेजी ४० रुपियाँ तिरेर नुन खरिद गर्नु परेको गुनासो गरेका छन् । गत वर्ष साल्ट ट्रेडिङले प्रतिघरधुरी ५० केजी नुन उपलब्ध गराएको थियो ।
अदानचुली गाउँपालिकामा पनि ढुवानी अनुदानको नुन आइनपुगेका कारण समस्या भएको छ । अदानचली गाउँपालिका–२ का स्थानीय जङ्ग रोकायाले नुन अभावले समस्या भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘वर्षको एक पटक पाउने ढुवानी अनुदानको नुन यस वर्ष हालसम्म नआएका कारण समस्या भएको छ ।’
साल्ट ट्रेडिङ कम्पनी हुम्लाका प्रमुख राजबहादुर लामाले ताँजाकोट गाउँपालिकाका लागि ४ सय ७९ क्विन्टल नुनको कोटा निर्धारण गरेकोमा हालसम्म ३ सय ४० क्विन्टल मात्र गाउँपालिका केन्द्रमा ढुवानी भएको जानकारी दिनुभयो ।