डुङ्गेश्वर गाउँपालिका–५ डाँडापराजुलकी ५० वर्षीया देबीसरा जैसीलाई सोही ठाउँका ३६ वर्षीय नरबहादुर शाही र उनकी ३४ वर्षीया पत्नी सर्जन शाहीले फागुन १२ गते कथित बोक्सीको आरोपमा कुटपिट भएको भन्दै पीडित पक्षले फागुन १३ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दर्ता गरेको छ ।
घरमा आफूहरू बिरामी परेको विषयलाई फागुन १२ गते साँझ बोक्सी लागेको भन्दै बाटो मार्न खरानीको ढेगा, आगोको अगुल्टो ल्याई देवीसराकै घर नजिक टपरीमा भाग छोडेपछि भएको विवादको क्रममा शाही दम्पतिले देवीसरालाई कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
पीडितको टाउको, छाति र ढाडमा चोट लागेकाले कर्णाली प्रदेश अस्पताल सुर्खेत पु¥याएर उपचार थालिएको छ । उनको स्वास्थ्य खतरामुक्त रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।
कथित बोक्सी आरोपमा प्रहरीमा उजुरी दर्ता भएको थाहा पाएपछि आरोपित पक्ष फरार भएको जानकारी आएको तर घटनाको अनुसन्धान र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुरप्रसाद पोखरेलले बताए ।