INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरो पीडितलाई राहत र बस्ती स्थानान्तरणको माग

जुम्लाको हिमा गाउँपालिका–६ खल्ढुङ्गा गाउँमा सुख्खा पहिरोबाट प्रभावित परिवारले तत्काल राहत र सुरक्षित स्थानमा बस्ती स्थानान्तरणको माग गरेका छन् । घटनापछि प्रभावित परिवार छिमेकीको घरमा आश्रय लिएर बस्न बाध्य भएका छन् भने अहिलेसम्म प्रभावकारी राहत तथा पुनर्स्थापनाको पहल हुन सकेको छैन । ०८२ चैत १७ गते दिउँसो गाउँमाथिबाट खसेको सुख्खा पहिरोले तीन ओटा घरमा क्षति पुर्‍याएको थियो । पहिरोका कारण स्थानीय ललिजन अधिकारीका दुई घरमध्ये एक पूर्ण रूपमा नष्ट भएको छ भने अर्को आंशिक रूपमा क्षतिग्रस्त भएको छ । सोही स्थानका बुच्चो अधिकारीको घरमा पनि क्षति पुगेको छ । घरभित्र रहेका अन्नपात, भाँडाकुँडा लगायतका सामग्रीसमेत पूर्ण रूपमा नष्ट भएका छन् ।

स्थानीयका अनुसार घटनाबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । दिउँसोको समयमा पहिरो गएको कारण मानवीय क्षति भने हुन पाएन । पहिरो जोखिमबारे गाउँका युवाहरूले एक हप्ता अघि नै स्थानीय सरकारलाई निवेदन दिएको भए पनि समयमै प्रभावकारी कदम नचालिएको गुनासो स्थानीयले गरेका छन् ।

जनप्रतिनिधिहरूले स्थलगत निरीक्षण गरी समस्या समाधान गर्ने आश्वासन दिए पनि ठोस पहल हुन नसकेको उनीहरूको भनाइ छ । गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीका अनुसार घटना भएकै दिन पालिका कर्मचारी र प्रहरीको टोलीले अनुगमन गरेको छ भने विपद् व्यवस्थापन समितिको बैठकले प्रारम्भिक राहत उपलब्ध गराउने तयारी गरेको छ ।

अध्यक्ष शाहीले खल्ढुङ्गा क्षेत्र पहिरोको उच्च जोखिममा रहेको उल्लेख गर्दै बस्ती स्थानान्तरणको विषय २०७९ सालमै जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्णय गरी प्रदेश र संघ सरकारमा पठाइएको जानकारी दिनुभयो । त्यतिबेला पनि पहिरो गएको थियो । तर हालसम्म सो विषयमा कुनै ठोस पहल नभएको उहाँले बताउनु भयो ।

पालिकाको बजेटले मात्रै बस्ती स्थानान्तरण सम्भव नभएको र प्रदेश, संघ सरकारको सहयोग आवश्यक रहेको अध्यक्ष शाहीको भनाई छ ।

मानदत्त रावल

अन्य

भिडियो