INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयमा आश्रय लिएकी जमुनालाइ कोठाको व्यवस्था !

आफ्ना दुई नातीहरूसँगै विद्यालयको लागि बनाइएको टहरामा बस्दै आएकी बेनी नगरपालिका–२ ज्यामरूककोटकी ७५ वर्षीया जमुना सुनारलाई कोठाको व्यवस्था भएको छ ।

यही फागुन ५ गते इन्सेक अनलाइनमा कोठा भाडा तिर्ने पैसा नभएपछि विद्यालयमा आश्रय ! शीर्षकमा समाचार प्रकाशन भएपछि उनलाई बस्ने कोठाको व्यवस्था भएको हो ।

बेनी नगरपालिका–२ नम्बर वडा कार्यालयको पहलमा जमुना र उनका नातिहरूलाई बसोबासको लागि बेनी नपा–२ कै बगरफाँटमा कोठा खोजेर बस्ने व्यवस्था गरिएको हो ।

नौ वर्षीय एनोस र सात वर्षीय सिमसनलाई वृद्धा आमाको जिम्मा लगाएर सम्र्पकविहीन भएका जमुनाका छोरा राजुलाई समेत प्रहरीको सहयोगमा सम्र्पकमा ल्याएर छोराहरूको संरक्षण, शिक्षा र पालनपोषणको जिम्मा लगाइएको वडा अध्यक्ष हिराबहादुर थापाले जानकारी दिए ।

विद्यालयमा आश्रय लिइरहेका जमुना र उनका नातिहरूलाइ डेरामा सारिएको छ । दुई नातिसँगै बगरफाँटको सरस्वती आधारभुत विद्यालय परिसरमा बनाइएको भवनमा गत मङ्सिरदेखि बस्दै आएकी सुनारको दयनीय अवस्थाका बारेमा समाचार प्रकाशन÷प्रशारण भएपछि विभिन्न व्यक्ति तथा सङ्घ संस्थाहरूले सहयोग तथा जनप्रतिनिधिहरूले उनीहरूको व्यवस्थापनका लागि चासो देखाएका थिए ।

दुई वर्षअघि मराङकी युवतीसँग अर्को विवाह गरेर दरवाङमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका एनोस र सिमसनका बुवा राजुले छोराहरूको लागि मासिक ६ हजार रुपियाँ आमालाई उपलब्ध गराउने वडा अध्यक्ष थापाले बताए ।

वडा अध्यक्ष थापाले सुनार परिवारको बसोबासका लागि जग्गा व्यवस्थापन गर्न पहल गरिएको समेत बताएका छन् ।

अन्य

भिडियो