INSEC Online

📅 २०८३ जेष्ठ २१

ठाउँठाउँका एनसेल टावरमा विष्फोट, ललितपुरमा एकको मृत्यु

ललितपुरको नख्खुस्थित एनसेल प्रालिको गेटमा विष्फोट हुँदा घाइते भएका सिङ्गप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको इन्सेक ललितपुर जिल्ला प्रतिनिधि दिपकप्रसाद घिमिरेले जनाएका छन् ।

लमजुङ् जिल्ला साविक गिलुङ् गाविस स्थायी ठेगाना भएका ३९ वर्षीय गुरुङको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

गुरुङलाई सुरूमा अल्का अस्पतालमा उपचार गरिए पनि पछि मेडिसिटी अस्पतालमा लगिएको थियो । गुरुङको मृत्यु फागुन ११ गते बिहानै भएको अस्पतालले जनाएको छ ।

फागुन १० गते राति अज्ञात पक्षले बम विष्फोट गराउँदा गुरुङसहित ललितपुर महानगरपालिका–४ बागडोलकी २६ वर्षीया प्रतिक्षा खड्का र काभ्रे जिल्ला बनेपा नगरपालिकाकी २५ वर्षीया उरुषा मानन्धर घाइते भएका थिए ।

उरुषा र प्रतिक्षाको उपचार मेडिसिटी अस्पतालमा भइरहेको महानगरीय प्रहरी परिसरका डिएसपी अपिलराज बोहोराले जानकारी दिए । घाइते उरुषा मेडिसिटी अस्पतालमा नर्सिङ सेवा दिँदै आइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

विष्फोटमा सुरक्षा गार्डको भूमिका शङ्कास्पद देखिएको महानगरीय प्रहरी परिसरका एसएसपी रमेशबहादुर धानुकले जानकारी दिए ।

घटनाबारे प्रहरीले सुक्ष्म अनुसन्धान सुरू गरेको उनले बताए । एनसेलको गेटमा राखिएको सिसिटिभी फुटेज हेर्दा सुरक्षा गार्डको भूमिका शङ्कास्पद देखिएको एसएसपी धानुकले बताए ।

घटना अनुसन्धानका लागि ६ जना व्यक्तिहरूलाई नियन्त्रणमा समेत लिइएको प्रहरीले जनाएको छ ।

विष्फोटलगत्तै घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरू पुगेका थिए । विष्फोट भएपछि प्रहरीले सुरक्षा सतर्कता बढाइएको छ ।

इन्सेक प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार अज्ञात पक्षबाट फागुन १० गते राति करिव १० बजेको समयमा एनसेल फोनको टावरमा आगजनी भएको हो ।

स्वर्गद्वारी नपा–३ मा रहेको ऐनसेल कम्पनीको फोन टावरमा रातको समयमा आगजनी गरेको इलाका प्रहरी कार्यालय भिङ्ग्रीका इन्स्पेक्टर गिताप्रसाद चौधरीले बताए ।

सो फोन टावरका कस्ले किन आगजनी गरेको हो थाहा नभएको र आगजनी गर्नेहरूको खोजी भइीरहेको इन्स्पेक्टर चौधरीले बताए ।

आगजनीबाट टावरको जेनेरेटरलगाएत अन्य उपकरणमा क्षति भएको र क्षतिको परिमाण कति भएको भन्ने बारेमा एनसेको प्राविधिक पक्षले जनाएपछि मात्र थाहा हुने प्रहरीले जनायो ।

इन्सेक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार मध्यविन्दु नपा–७ अम्रसामा रहेको एनसेल टावरमा फागुन १० गते राति विष्फोट भएको छ ।

एनसेल टावरमा राति ९ बजे विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटपछि आगजनी हुँदा टावर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले जनाएको छ । विष्फोटन गराउनेको पहिचान नभएको एसपी रमेश थापाले बताए ।

इन्सेक कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाको नाकस्थित एनसेलको टावरमा आगजनी गरिएको छ ।

माघ १० गते राति करिब १० बजेको समयमा आगजनी भएको प्रहरी कार्यालय शिशुवाका डिएसपी मोहनबहादुर खाँडले जानकारी दिए ।

‘पूर्ण क्षति भएको छैन । जेनेरेटरलगायतका सामानहरू सुरक्षित छन् ।’–डिएसपी खाँडले भने ।

आगो कसले लगायो भन्ने अहिलेसम्म खुल्न नसकेको उनले बताए ।

इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार फागुन ९ गते राति बागलुङमा रहेका एनसेलका तीन ओटा टावरमा अज्ञात पक्षले आगजनी गरेको छ ।

बागलुङ नगरपालिका–७ मुलपानी, गल्कोट नगरपालिका–८ काँडेवास र निसिखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा अज्ञात पक्षले आगजानी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

एनसेल टावरमा कसले र के प्रयोजनको लागि आगजनी गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी चिरञ्जीवी कोइरालाले बताए ।

टावरमा आगलागी भएको देखेपछि स्थानीयले गरेको खबरका आधारमा घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान थालेको कोइरालाले बताए ।

आगजनीबाट टावरमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो