लुम्बिनी प्रदेशमा क्षयरोग (टिबी) को अवस्था हेर्दा उपचारमा सुधार देखिए पनि संक्रमण दर अझै उच्च रहेको पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्ला केही वर्षमा टिबी सम्बन्धी प्रमुख सूचकहरूमा मिश्रित अवस्था देखिएको छ ।
लुम्बिनी प्रदेशको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा प्रति १ लाख जनसंख्यामा १ सय १२ रहेको केस नोटिफिकेशन दर क्रमशः बढ्दै २०७८/७९ मा १ सय ५८ पुगेको थियो । त्यसपछि केही उतारचढावका बीच २०८०/८१ मा १ सय ६४ जना पुगेको यो दर २०८१/८२ मा घटेर १ सय ५१ मा झरेको छ । यसले एकातर्फ केस पहिचान र परीक्षणको दायरा बढेको देखाए पनि संक्रमण अझै व्यापक रहेको संकेत गर्दछ ।
त्यसै उपचारतर्फ भने प्रदेशले उत्साहजनक प्रगति हासिल गरेको तथ्यांकले देखाउँछ । उपचार सफलता दर २०७६/७७ मा ९१ प्रतिशत रहेकोमा २०८१/८२ मा बढेर ९४ प्रतिशत पुगेको छ । यसले स्वास्थ्य संस्थाहरूमा उपचार सेवा र निगरानी प्रणालीमा सुधार आएको देखाउँछ । तर मृत्यु दर भने ३ देखि ४ प्रतिशतको हाराहारीमा स्थिर रहेको छ, जसले समयमै पहिचान र उपचारमा अझै कमजोरी रहेको संकेत गर्दछ ।
जिल्लागत तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी टिबी बिरामी रुपन्देही जिल्लामा भेटिएका छन्, जहाँ १ हजार १ सय १५ जना केस दर्ता भएका छन् । त्यसपछि दाङमा ७ सय ७४, बाँकेमा ५ सय ७९, कपिलवस्तुमा ५ सय ६२ जना र बर्दियामा ३ सय ८० केस रहेका छन् ।
तुलनात्मक रूपमा पहाडी जिल्लाहरूमा केस संख्या कम देखिए पनि सेवा पहुँचको सीमितताका कारण वास्तविक संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ ।
प्रदेशभर कुल ४ हजार ५ सय ८ जना टिबी बिरामी दर्ता भएका छन् । स्वास्थ्य निर्देशनालय लुम्बिनीका क्षयरोग फोकल पर्सन कृष्ण गोपाल चौधरीका अनुसार कुल केस नोटिफिकेशन दर ८५.९५ प्रतिशत रहेको छ भने उपचार सफलता दर ९० प्रतिशत पुगेको छ । टिबी–एचआईभी सह–संक्रमणका ३२ केस र ART मा रहेका २० बिरामीहरू समेत फेला परेका छन्, जसले रोग नियन्त्रणमा चुनौती थपेको छ ।
जनस्वास्थ्य विज्ञ तुल्सी भण्डारीका अनुसार क्षयरोग नियन्त्रणमा मुख्य समस्या ढिलो परीक्षण, उपचार अधुरो छोड्ने प्रवृत्ति तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवामा पहुँचको अभाव हो । विशेषगरी गरिब, सीमान्तकृत समुदाय र श्रमिक वर्गमा टिबीको जोखिम बढी देखिएको छ ।