जुम्ला कारागारमा १० जना उच्च रक्तचापका (कैदीबन्दी) बिरामी देखिएका छन् । चैत ११ गते कैदी बन्दीको स्वास्थ्य अवस्था पहिचान गर्दै आवश्यक उपचार र परामर्श उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य परीक्षण गर्दा १० जना उच्च रक्तचापका विरामी देखिएका हुन् ।
यस्तै मानसिक स्वास्थ्य सम्बन्धी उपचार तथा परामर्श २१ जना र क्षयरोगको लागि सम्भावित सिफारिस गरी परीक्षण गर्न पठाइएका विरामी नौ जना छन् । कारागारका ७६ जना कैदीबन्दी मध्ये ६२ जना स्वास्थ्य परीक्षण गरिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको समन्वय र जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीले कैदीबन्दीको सामान्य शारीरिक परीक्षणसँगै रक्तचाप, मधुमेह, पोषण अवस्था, दीर्घरोगको जोखिम तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या पहिचान गरिएको थियो ।
कारागार जस्तो सीमित वातावरणमा लामो समय बस्नुपर्दा देखिन सक्ने तनाव, चिन्ता, डिप्रेसन, अनिद्रालगायतका मानसिक स्वास्थ्य समस्याको मूल्याङ्कन गरी आवश्यक परामर्श प्रदान गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले बताउनु भयो । उहाँका अनुसार, मानसिक स्वास्थ्य परीक्षणका क्रममा कैदीबन्दीलाई सकारात्मक सोच, आत्मबल वृद्धि तथा तनाव व्यवस्थापनका उपायका विषयमा परामर्श गरिएको छ । परीक्षणका क्रममा केही कैदीबन्दीमा सामान्य रोगका लक्षण देखिएपछि तत्काल औषधि वितरण गरिएको छ । जटिल स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई थप उपचारका लागि सिफारिस गरिएको छ ।
कार्यालय प्रमुख शर्माका अनुसार, कारागारभित्र रहेका नागरिकहरू पनि राज्यका समान अधिकार प्राप्त नागरिक भएकाले उनीहरूको स्वास्थ्य सुरक्षामा कुनै कमी हुन नदिन यस्तो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिनेछ ।
विश्व क्षयरोग दिवसका अवसरमा कैदी बन्दीको स्वास्थ्य परीक्षण गर्नुका साथै फलफूल पनि वितरण गरिएको हो । गएको पुस महिनामा पनि कैदी बन्दीको स्वास्थ्य परीक्षण गरिएको उहाँले बताउनु भयो । ‘स्वास्थ्य परीक्षण कार्यक्रमले रोगको प्रारम्भिक पहिचान, उपचारमा सहजता र मानसिक सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास लिइएका छौं,’उहाँले भन्नुभयो ।