लालीगुराँस नगरपालिकाले वसन्त माध्यमिक विद्यालयमार्फत कक्षा ११ र १२ का विद्यार्थीका लागि नि:शुल्क आवासहित शिक्षाको व्यवस्था गरेको छ ।
विद्यालयले कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी खाना, आवाससहित निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था मिलाएको हो ।
विद्यालयमा आधुनिक छात्रावास भवन निर्माण गरिएसँगै विद्यार्थीको बसोबास सुरक्षित र व्यवस्थित बनेको छ । यसले टाढा टाढाबाट आउने विद्यार्थीलाई सहज भएको छ ।
विशेष गरी विद्यालय टाढा परेका तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क आवास र खानासहितको शिक्षा व्यवस्था गरिएको लालीगुराँस नगरपालिकाका मेयर अर्जुन मावोहाङले बताउनु भयो ।
वसन्तपुर नगरपालिकाभित्रका विद्यार्थीलाई समान शैक्षिक अवसर उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको मेयर मावोहाङको भनाइ छ । छात्रावासमा बसोबास गर्ने सम्पूर्ण विद्यार्थीको खर्च नगरपालिकाले व्यर्होने छ ।
“पहाडी भेगका विद्यार्थीका लागि शिक्षा प्राप्ति अझै पनि चुनौतीपूर्ण विषय भएकाले, टाढा विद्यालय हुँदा समयमै पुग्न नसक्नु सबैभन्दा ठूलो चुनौती छ । त्यस किमिसका समस्या हाम्रा विद्यार्थीले भोग्नु नपरोस भनेर आवासहितको शिक्षा व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।
आर्थिक अभाव र भौगोलिक दुरीका कारण धेरै विद्यार्थीले पढाइलाई निरन्तरता दिन नसक्ने अवस्था तथा गुणस्तरीय शिक्षाको खोजीमा धरान, विराटनगर वा काठमाडौँ जस्ता सहर धाउनुपर्ने बाध्यता अन्त्य गर्न यो अभियान सुरु गरिएको विद्यालयले जनाएको छ ।
निःशुल्क शिक्षालाई प्रभावकारी बनाउन विद्यालयले भर्नादेखि शिक्षण सिकाइसम्म कुनै शुल्क नलिई सेवा प्रदान गरिरहेका विद्यालयका प्रधानाध्यापक नवीन अधिकारीले बताउनु भयो । नगरपालिकाको ‘शैक्षिक हब’ निर्माण गर्ने योजना अनुसार वसन्त माविलाई नमुना विद्यालयका रूपमा विकास गरिँदै छ ।
छात्रावास सञ्चालनमा आएसँगै विद्यार्थी खर्चको चिन्ताबाट मुक्त भई पढाइमा केन्द्रित हुन सकेको विद्यार्थीको भनाइ छ । लालीगुराँस नगरपालिका–६ का विद्यार्थी कुसुम लिम्बूले निःशुल्क खाना, बाससहित अध्ययन गर्न पाउँदा निकै सहज भएको बताउनु भएको छ ।