जिल्ला कारागार गुल्मीका एक कैदीले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन् । छत्रकोट गाउँपालिका–२ पल्लीकोटका ३२ वर्षीया रूक बहादुर राकशकोटीले फागुन ८ गते साँझ ब्लेडले घाँटी रेटेका थिए ।
सोही दिन उनलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत गुल्मीबाट २० वर्ष कैद सजाय सुनाइएको थियो । फैसलापछि उनलाई प्रहरीले कारागार लगेको थियो ।
गेटभित्र पसे लगत्तै सुनियोजित रूपमा ब्लेडलेले घाँटी रेटेको कारागार प्रमुख उद्धव पन्थीले बताए । उनले बिहान दारी फालेको व्लेड गोजीमै राखेको र फैसला सुनेर फर्केपछि आत्महत्याको प्रयास गरेको बताए ।
रूकबहादुरको घाँटीमा १० ओटा टाँका लगाइएको गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले बताए । रूकबहादुरले ०७५ साउन २ गते स्थानीय ३४ वर्षीय शेरबहादुर राकशकोटीलाई घरमै गएर कुटपिट गरेका थिए ।
कुटपिटपछि घाइते शेरबहादुरको मृत्यु भोलिपल्टै भयो । आफन्तको उजुरीको आधारमा उनलाई प्रहरी ०७५ साउन ३ गते गिरफ्तार गरी जिल्ला अदालत पेश गरेको थियो ।
जिल्ला अदालत गुल्मीबाट ०७५ साउन १८ गते राकशकोटीलाई पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको थियो ।
धेरै वर्षको कैद सजाय र अलिअलि डिप्रेशन पनि भएकाले आत्महत्याको प्रयास गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका एसपी दिपककुमार बस्नेतले बताए ।