आर्थिक अवस्था कमजोर भएका कारण ‘बोक्सी’को आरोपमा तातो पानी खन्याएर र अगुल्टो प्रहार गरी जलाइएकी वाणगंगा नगरपालिका– १ उप्टाहकी ५७ वर्षीया लिला कुमारी श्रेष्ठलाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि चैत ९ गते पीडितलाई १० हजार रुपियाँ सहयोग गरेको छ ।
इन्सेक कपिलवस्तु प्रतिनिधि रीमा बिसीले प्रहरी र पीडितको छोराको रोहवरमा सो रकम चैत ९ गते हस्तान्तरण गर्नुभएको थियो । वाणगंगा नगरपालिका–१ उप्टाहका ५१ वर्षीय हुम कुमारी झेडी र निजकी छोरी २१ वर्षीया खगिश्वरा झेडीले फागुन २६ गते आगोको अगुल्टोले पोलेको र शरिरमा तातो पानी खनाएर दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले फागुन २६ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिनुभयो ।
पीडितले दिएको उजुरीका आधारमा आरोपितहरुलाई फागुन २६ गते घरबाटै गिरफ्तार गरी कारबाही अगाडी बढाएर म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रिपेन्द्र कुमार सिंहले बताउनुभयो ।