टिकापुर नगरपालिका—९ स्थित खक्रौला सीमा नाकामा रहेको सशस्त्र प्रहरी बल गुल्ममा कार्यरत डिएसपी प्रदिप पौडेलमाथि कुटपिट गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिकाका ४० वर्षीय रामबहादुर साउदलाई ०८२ चैत ५ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले दिएको उजुरीका आधारमा फरार रहेका आरोपित पाँच जना मध्ये साउदलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको र अन्यको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय, टिकापुरका डिएसपी नविनराज बुढाथोकीले बताउनु भयो ।
घटनामा संलग्न पाँच जना फरार आरोपितहरुको सम्पूर्ण विवरण हाललाई खुलाउन नसकिने समेत डिएसपी बुढाथोकीले बताउनु भयो ।
अवैध रुपमा भारतबाट ल्याएको सामान बरामद गर्दा टिकापुर उद्योग वाणीज्य संघसँग ०८२ चैत ४ गते छलफल गर्ने क्रममा स्थानीय युवा र व्यापारीहरु गुल्म भित्र प्रवेश गरी डिएसपी पौडेललाई कुटपिट गरेका थिए ।
टिकापुर नगरपालिका–९ स्थित खक्रौला सीमा नाकामा रहेको सशस्त्र प्रहरी बल गुल्ममा कार्यरत डिएसपीमाथि आक्रमण गरेको घटनाको समाचार भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाको सत्यतथ्य छानविन गर्न सशस्त्र प्रहरी बल नं. ७ बैद्यनाथ बाहिनीका एसपी अनिल कार्कीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ ।