इनरुवा नगरपालिका–९ बबियास्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत १२ वर्षीया बालिका कौशल्या यादवलाई शिक्षकले कुटपिट गर्नुका साथै विद्यालय पोशाक च्यातिदिएको पीडित पक्षले आरोप लगाएको छ ।
विद्यालयका शिक्षक श्यामप्रसाद साहले ०८२ चैत ४ गते कुटपिट गर्नुका साथै विद्यालय पोशाक च्यातिदिएको पीडित पक्षको आरोप छ ।
विद्यालयले चैत ५ गते अभिभावक भेला बोलाएको र चैत ४ गते विद्यार्थीद्वारा खेलमैदान सफा गराउने क्रममा शिक्षक साहले सरसफाइको काम नगरेको भन्दै कुटपिट गर्नुका साथै पोशाक च्यातिदिएको पीडित बालिकाले बताउनु भयो ।
कुटपिटपछि विद्यालयका प्रधानाध्यापक उमेशप्रसाद साह र आरोपित शिक्षकले घरमा कोही कसैलाई केही नभन्नु भनि छोरीलाई धम्की दिएको पीडित बालिकाका बाबु नागेश्वर यादवले आरोप लगाउन भएको छ ।
आरोपित शिक्षकले कुटपिट नगरेको तर लाठ्ठीले इशारा गरेर सफाइको काम छिटो गर भन्दा बालिकाले लगाएको स्कूले सर्ट च्यातिएको बताउनु भयो ।
घटनापछि आरोपित शिक्षकले च्यातिएको सर्ट लुकाएर अर्के पुरानो सर्ट दिएको पीडित पक्षको आरोप छ ।
घटनापछि अभिभावकले दोषी शिक्षकलाई कारबाहीको माग गरेका छन् ।
नेपालको संविधान, २०७२ ले धारा ३९ मा बालबालिकाको हकलाई व्याख्या एवम् व्यवस्था गरेको छ । सोही धाराको उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर परिवार, विद्यालय वा जुनसुकै स्थानमा मानसिक, शारीरिक यातना तथा सजाय दिन वर्जित गरेको छ ।