तिला गाउँपालिका– ३ कुडारी गाउँकी १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको फागुन २८ गते मृत्यु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएकी नेपालीलाई थप उपचारका लागि सोही दिन नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा लगिएका थियो । प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा उहाँको मृत्यु भएको हो ।
कलिलै उमेरमा विवाह गरेकी उहाँलाई बच्चा जन्माउन समयमा नै अस्पताल ल्याइएन । गाउँघरमा धामीझाक्री र झारफुकमै परिवारजन लागे । जब अस्मितालाई व्यथाले च्याप्यो त्यसपछि मात्रै अस्पताल ल्याइयो । समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु भएको चिकित्सकहरुले बताए ।
यस्तै तातोपानी गाउँपालिका–१ बाँइराकाकी ३० वर्षीया सुत्केरी मुगा शाहीको गत वर्षको माघ १० गते मृत्यु भयो । उहाँबाट जन्मेको नवजात शिशुको पनि मृत्यु भयो । पहिला धामीझाक्रीको झारफुक तिर लागेर समयमा अस्पताल नलगिएका कारण सुत्केरी आमा र नवजात शिशुको मृत्यु भएको चिकित्सकहरुले जनाएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा नवजात शिशु र सुत्केरी शाहीको मृत्यु भएको हो । प्रतिष्ठानको आइसियूमा राखिएकी सुत्केरी महिला शाहीको गत वर्षको माघ १० गते उपचारका क्रममा मृत्यु भयो । उहाँको बच्चाको भने माघ ३ गते अस्पताल पुर्याउँदा नै मृत्यु भएको थियो । सुत्केरी आमाको अवस्थाको विषयमा सोही गाउँकी महिला स्वास्थ्य स्वयंमसेविका छुमकली सार्कीले आफूले थाहा पाएपछि सुत्केरीको अवस्था गम्भीर भएको भन्दै अटोमा अस्पताल पुर्याएको बताउनु भयो ।
परिवारका अनुसार मृतक सुत्केरी मुगा शाहीलाई गतवर्षको माघ २ गते राति नै सुत्केरी व्यथा लागेको थियो । समयमा अस्पतालमा नल्याई धामी झाक्रीको भर परेपछि अस्पताल ढिला पुर्याइएको हो । मृतक शाहीका भाई तातोपानी गाउँपालिका–२ डाँगीवाडाका धिरेन्द्र डाँगीका अनुसार अस्पताल पुर्याउन ढिला भएका कारण दिदीले ज्यान गुमाउनु परेको हो । प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा. कविता शाहका अनुसार माघ ३ गते बेहोस् अवस्थामा पुग्नुभएकी सुत्केरी महिला शाहीलाई भेन्टिलेटरमा राखिएको थियो । सोही क्रममा उहाँको मृत्यु भएको हो ।
‘सुत्केरी आमाको स्वास्थ्य गम्भीर अवस्थामा देखेपछि दुई, तीन मिनेटमै आइसियूबाट भेन्टिलेटरमा उपचार सुरु गरेका थियौँ । परिवारले अस्पताल ढिला पुर्याउँदा दुःखद् घटना भयो,’ उहाँले भन्नुभयो, ‘सुत्केरी व्यथा लाग्ने बित्तिकै स्वास्थ्यकर्मीलाई खबर गरेर अस्पताल ल्याउनु पर्ने हो । तर निकै ढिला अस्पताल ल्याउने काम भयो ।’ आइसियूमा होस नखुलेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले माघ ४ गते नै रिफर समेत गरिएको थियो । परिवारले काठमाडौँ लान पहल गरेको थियो । तर जिल्ला बाहिर पनि लान सकिने अवस्था बनेन । त्यसपछि सुत्केरी आमा र बच्चा दुवैको मृत्यु भयो ।
जनस्वास्थ्य कार्यालय जुम्लाकी नर्स टिका पुन मगरका अनुसार चालु आर्थिक वर्ष ०८२/०८३ मा दुई जना सुत्केरी आमाको मृत्यु भएको छ । तातोपानी गाउँपालिकाकी एक जना र तिला गाउँपालिकाकी एक जना गरी दुई जना सुत्केरी आमाको मृत्यु भएको हो । यस्तै गत आर्थिक वर्षमा तीन जना सुत्केरी आमाको मृत्यु भएको थियो । पातारासी गाउँपालिकाकी एक जना, सिंजा गाउँपालिकाकी एक जना र तातोपानी गाउँपालिकाकी एक जना गरी तीन जना सुत्केरी आमाको मृत्यु भएको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका डाक्टर नविन कुमार मण्डलका अनुसार अहिले पनि एक जना यस्तै घटनासँग सम्बन्धित सुत्केरी महिला अस्पतालमा उपचारत छन् । उहाँलाई पनि निकै जटिल अवस्था भएपछि मात्रै अस्पताल ल्याएको थियो । ‘चिकित्सकहरुको अथक प्रयासले उहाँ बाच्न सफल हुनु भएको छ,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । अब केही दिनमा डिस्चार्ज हुने अवस्थामा पुगेकी छन् ।’
समाजमा अझै पनि आधुनिक चिकित्सा सेवाभन्दा पहिले धामी–झाँक्री वा झारफुकमा विश्वास गर्ने चलन कायम रहँदा गम्भीर स्वास्थ्य समस्या आई बिरामीको ज्यान नै जोखिममा पर्ने अवस्था देखिएको उहाँको भनाइ छ ।
चिकित्सकका अनुसार गर्भावस्थामा देखिने गम्भीर समस्या समयमै उपचार नपाउँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न सक्छ । गर्भावस्थामा कहिलेकाहीँ देखिने एचईएलएलपी सिन्ड्रोम जस्तो जटिल अवस्था अत्यन्त खतरनाक मानिन्छ । यो अवस्था देखिएमा तत्काल विशेषज्ञ चिकित्सकीय उपचार आवश्यक हुन्छ । तर समयमै अस्पताल नपुग्दा यसले गर्भवती महिलाको ज्यान मात्र होइन, गर्भमा रहेको शिशुको जीवन पनि जोखिममा पार्ने सम्भावना हुन्छ ।