सिमकोट गाउँपालिका–५ स्थित साहारा समूहको छात्राबासको छाना हावाले उडाएपछि अपाङ्गता भएका बालबालिकाको पठनपाठन दुई हप्तादेखि प्रभावित भएको छ ।
छात्राबासको छाना माघ २४ गते हावाहुरीले उडाएाएपछि फरक क्षमता भएका ५७ जना बालबालिकाको पठनपाठन प्रभावित भएको हो ।
हुम्लामा लगातार परेको भारी हिमपातसँगै चलेको हावाहुरीले साहारा समूहको छात्राबासको छानो उडाएपछि ती बालबालिका खुल्ला आकाशमुनी बस्न बाध्य भएका छन् । आजभोलि ती बालबालिका हिउँदे ट्युसन लिइरहेको साहारा समूहका निर्देशक सूर्य पौडेलले बताए ।
उनले भने–‘फरक क्षमता भएका बालबालिकाका लागि सो भवन भर्खरै मात्र निर्माण भएको हो । सो छात्राबासको छानो उडाएपछि मानवीय घटना हुनबाट बचेका छन् ।’
तर, त्यसमा रहेका सम्पूर्ण बालबालिकाहरूको खानेकुरा, लत्ताकपडा, कापी किताव, कलमसमेत ढुङ्गामुढाले च्यापिएर नष्ट गरेपछि समस्या भएको निर्देशक पौडेलले बताए ।
त्यतिमात्र नभएर हावा हुरीले छानो उडाएपछि यी फरक क्षमता भएका बालबालिका खुला आकाश मुनिको हिमपातमा बस्न बाध्य भएका छन् ।
१२ कोठे भवनको पुरै छत हावा हुरीले उडाएपछि हिउ कोठा भित्र पसि करिब तीन फिट कोठा भित्र हिउँ जमेको र फाल्न समेत समस्या भएको सोही विद्यालयका निर्देशक पौडेलको भनाइ छ ।
निर्देशक पौडलका अनुसार भवन भत्किएको विषयमा सरोकारवाला निकायलाई सहयोगका लागि अनुरोध गरेपनि फागुन ८ गतेसम्म कोही कसैले ध्यान नदिएको गुनासो गरेका छन् ।