INSEC Online

📅 २०८३ जेष्ठ २१

कुमार पौडेल हत्या प्रकरणको अनुसन्धान गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता ४७ वर्षीय कुमार पौडेलको हत्या प्रकरणमा तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित १० जनाविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाउन सरकारका नाममा ०८२ फागुन २८ गते परमादेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला प्रहरी कार्यालय सर्लाही र जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीका नाममा सो आदेश जारी गरेको हो ।

कुमार पौडेलको ०७६ असार ५ गते दिउँसो १ बजे सर्लाहीको लालबन्दी नजिकै लखन्देही जंगल नजिकै प्रहरीको विशेष ब्यूरोबाट खटिएको टोलीले गोली प्रहार गरी हत्या गरेको थियो। प्रहरीले उक्त घटनालाई ‘दोहोरो भिडन्त’ मारिएको दाबी गरेको थियो । पौडेलकी आमा दुर्गादेवीले २०७६ माघ २४ गते जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा घटनामा संलग्न प्रहरीका साथै पूर्व आइजीपी सर्वेन्द्र खनाल र पूर्व गृहमन्त्री रामबहादुर थापाविरुद्ध दिएको उजुरी प्रहरीले दर्ता गरेको थिएन ।

दुर्गादेवीले आफ्ना छोराको गैरकानुनी रूपमा हत्या गरिएको भन्दै प्रहरीमा गरेको उजुरी दर्ता गर्न नमानेपछि सरकारी वकिलको कार्यालयमा निवेदन दिनु भएको थियो । तर, सरकारी वकिल कार्यालयले पनि जवाफ नदिएपछि दुर्गादेवी अदालत जानु भएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासले पौडेलको विवादास्पद हत्या (इन्काउन्टर) घटनामा पौडेलकी आमा दुर्गादेवी पौडेलले दायर गरेको रिटमा ०७८ असोज १२ गते सुनुवाई गर्दै उजुरी दर्ता गर्न आदेश दिएको थियो । उजुरी निवेदनको सनाखत भएको नदेखिएको उल्लेख गर्दै सर्वोच्चले आदेशमा भनेको छ, ‘यो आदेशको सूचना प्राप्त भएको मितिले सात दिनभित्र आफूसमक्ष प्राप्त भएको निवेदिकाको उजुरी जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीका जिल्ला न्यायाधिवक्ताको रोहवरमा निवेदिकाबाट सनाखत गराउने उपयुक्त व्यवस्था मिलाउनु ।’ साथै उजुरी सनाखत गरी सो अनुरूपको भरपाई निवेदिकालाई उपलब्ध गराएर यथाशीघ्र सर्वोच्चलाई जानकारी गराउनु भनिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले घटनाको अनुसन्धान गर्दै प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेकाले पौडेलको बाँच्न पाउने न्यूनतम अधिकारको हनन् भएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको थियो । आयोगले प्रतिवेदनमा प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष निर्देशनमा दुई नम्बर प्रदेश प्रहरी कार्यालयको समन्वयमा परिचालित प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि अनावश्यक बल प्रयोग गरी गोली हानेको उल्लेख गरेको छ ।

आयोगको टोलीले घटनामा संलग्नताको किटानसहित प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह, प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

यस्तै, प्रहरी निरीक्षकद्वय किरणप्रसाद न्यौपाने र सूर्यकुमार कार्कीलाई घटनाको मुचुल्कामा त्रुटिपूर्ण कार्य गरेको भन्दै सचेत गराउन भनिएको थियो ।

घटनाको इन्सेकले स्थलगत अध्ययन गरी प्रहरी आवश्यकता भन्दा बढी बल प्रयोग गरी हत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

कुमारको हत्यामा सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी कार्यालयका प्रमुख एस.पी. गोपाल भट्टराई, प्रदेश नं. २ प्रदेश प्रहरी प्रमुख तत्कालीन डिआईजी हरीबहादुर पाल, इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर किरणप्रसाद न्यौपाने विरुद्ध उजुरी परेको थियो ।

सर्लाहीमा उक्त घटना हुँदा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री र सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक थिए। सर्लाहीका तत्कालीन सीडीओ कृष्णबहादुर राउत, तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री थापा, प्रहरी महानिरीक्षक खनाल र मधेश प्रदेशका तत्कालीन डीआईजी हरिबहादुर पालसमेतको संलग्नता रहेको भन्दै छानबिनको माग उठ्दै आएको थियो ।

घटनाका सम्बन्धमा इन्सेकले गरेको स्थलगत अध्ययन प्रतिवेदन

अनलाइनडेस्क

अन्य

भिडियो