INSEC Online

📅 २०८३ जेष्ठ २१

लुम्बिनी प्रदेशमा १ हजार ३ सय ६० बिरामी नियमित डायलाइसिसमा

बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले विश्व मिर्गौला दिवस २०२६ अवसरमा प्रदेशमै मृगौला रोगका विरामीहरुको संख्यामा उल्लेखनीय बृद्धि भएको जनाएको छ ।

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री बिष्णु पन्थीले मिर्गौला रोगलाई बेवास्ता गर्दा स्वास्थ्यमा थप चुनौती भएको बताउनु भयो । उहाँले समयमै रोग पहिचान र उपचारको पहुँच विस्तार गर्न राज्यले थप पहल गर्नुपर्ने उल्लेख गर्नु भयो ।

“मिर्गौला रोग धेरैजसो अवस्थामा अन्तिम चरणमा मात्र पत्ता लाग्छ । त्यसैले जनचेतना बढाउनु र नियमित स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिनु अत्यन्त आवश्यक छ,” पन्थीले भन्नु भयो ।

लुम्बिनी प्रदेश कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार लुम्बिनी प्रदेशभरि हाल करिब १ हजार तीन सय ६० जना बिरामी नियमित डायलाइसिस सेवा लिइरहेका छन्। तीमध्ये करिब ५ सय ५० जना बिरामीले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमै डायलाइसिस गराइरहेको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत कमल भण्डारीले बताउनु भयो ।

मिर्गौला रोग विशेषज्ञ डा. रजत कायस्थ का अनुसार पछिल्ला वर्षहरूमा मधुमेह, उच्च रक्तचाप, अस्वस्थ खानपान र जीवनशैलीका कारण मिर्गौला रोगीको संख्या बढिरहेको बताउनु भयो । उहाँले भन्नु भयोे, “मिर्गौला रोग लामो समयसम्म लक्षण नदेखिने रोग हो ।

धेरै बिरामी अन्तिम चरणमा पुगेर मात्र अस्पताल आउने गरेका छन्, जसले उपचार अझ जटिल बनाउँछ।”तथ्यांक व्यवस्थापन अझै चुनौती यद्यपि लुम्बिनी प्रदेशभरि मिर्गौला रोगीहरूको सम्पूर्ण र एकीकृत तथ्यांक भने अझै उपलब्ध छैन ।

स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्यांक अनुसार “प्रदेशमा १ हजार ८ सय ८३ जना विरामी छन भन्ने मोटामोटी तथ्यांक रहेको जनाइएको छ । उपचार सेवा लिनेको संख्या भने १ हजार ३ सय ६० रहेको तथ्याङ्क देखिन्छ ।

सबै अस्पतालसँग समन्वय गरेर एकीकृत तथ्यांक तयार गर्ने योजना बनाइएको निर्देशनालयले जनाएको भए पनि प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता नोदनारायण चौधरी पूर्ण तथ्यांक उपलब्ध नभएको स्वीकार गर्नुभयो ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक तथा मिर्गौला रोग विशेषज्ञ डा. समीर गौतमले मिर्गौला रोग उपचारका लागि अस्पतालले बिभिन्न बाधा कठिनाई सहेर पनि सेवा दिदै आएको बताउनु भयो ।

रीमा बि.सी.

अन्य

भिडियो