INSEC Online

📅 २०८३ जेष्ठ २१

महिलाहरुमाथि दुर्व्यवहार गरेको आरोपमा एकजना गिरफ्तार

दुई जना महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङ स्थायी घर भई हाल पोखरा महानगरपालिका-२५ हेमजा बस्ने २३ वर्षीय मनिष थापालाई ०८२ फागुन १७ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई पोखराको चिप्लेढुङ्गामा दुर्व्यवहार गर्नुका साथै कुटपिट समेत गरेका थिए ।

आरोपितले मिहलाहरुलाई फागुन १५ गते दिउँसो ३ बजे पोखरा महानगरपालिका-९ स्थित चिप्लेढुङ्गाको पार्किङ स्थलमा कुटपिट तथा झैझगडा गरेको भिडियो सामाजिक सञ्जालमा आएको थियो । भिडियो विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान र खोजतलास सुरु गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले घटनामा संलग्न व्यक्तिलाई गिरफ्तार गरी थप कानुनी प्रक्रिया अगाडि बढाइएको बताए । उनले भने, ’सामाजिक सञ्जालमा घटना सार्वजनिक भएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा घटनामा संलग्न व्यक्तिको पहिचान खुलेको हो र उनलाई चिप्लेढुङ्गाबाटै नियन्त्रणमा लिएका छौँ ।’ गिरफ्तार गरिएका थापामाथि अहिले थप अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

सञ्जय रानाभाट

अन्य

भिडियो