जुम्लाबाट नेपालगञ्जसम्म जानका लागि एम्बुलेन्सको भाडा २५ हजार रुपियाँ तोकिएपछि स्थानीय असन्तुष्ट भएका छन् । जिल्ला एम्बुलेन्स समितिले आफू खुसी भाडादर निर्धारण गरेको आरोप लगाउँदै स्थानीयले असन्तुष्टि जनाएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको एम्बुलेन्स सञ्चालन निर्देशिका, २०८२ बमोजिम जिल्ला एम्बुलेन्स समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको अध्यक्षतामा ०८२ पुस २४ मा बसेको बैठकले जुम्ला जिल्लाभित्र सञ्चालन हुने एम्बुलेन्सहरूको भाडादर निर्धारण गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख किरणकुमार शर्माले बताउनु भयो । निर्धारित भाडादरबारे जनगुनासो आएको स्वीकार गर्दै कार्यालय प्रमुख शर्माले भन्नुभयो, ‘आवश्यक परेमा आगामी बैठकबाट पुनरावलोकन गर्न सकिन्छ ।’
चन्दननाथ नगरपालिकाभित्र एम्बुलेन्सको भाडा छ सय रुपियाँ, जिल्लाभित्र कच्ची सडकमा प्रतिकिलोमिटर एक सय र पक्की सडकमा ९० रुपियाँ (दुवैतर्फ) तोकिएको छ । त्यस्तै, जुम्लाका सम्पूर्ण स्थानदेखि सुर्खेतसम्म एम्बुलेन्स भाडा २० हजार रुपियाँ र जुम्लाबाट नेपालगञ्जसम्म २५ हजार रुपियाँ निर्धारण गरिएको प्रमुख शर्माले बताउनु भयो ।
जिल्ला एम्बुलेन्स समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले दूरी र स्थानका आधारमा भाडादर निर्धारण गरिएको बताउनु भयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक श्रेणीका एम्बुलेन्स सञ्चालनमा रहेकाले भाडामा एकरूपता ल्याउन समिति सक्रिय भएको प्रजिअ पौडेलको भनाई छ ।
सिंजा, तिला, हिमा गाउँपालिका तथा चन्दननाथ नगरपालिकाले जिल्ला एम्बुलेन्स समितिले तोकेको भाडादर कार्यान्वयन गर्ने भन्दै सार्वजनिक सूचना जारी गरिसकेका छन् । तर, सुर्खेत र नेपालगञ्जसम्मको भाडा अत्यधिक महंगो भएको भन्दै स्थानीय असन्तुष्ट छन् । सरकारी तवरबाटै सञ्चालन हुने एम्बुलेन्सको भाडादरका विषयमा चर्काे विरोध भई रहेको नागरिक समाज जुम्ला अध्यक्ष राजबहादुर महतले बताउनु भयो । उहाँले एम्बुलेन्स भाडादरमा हेरफेर गर्नुपर्ने माग गर्नुभयो ।
बिरामीलाई लक्षित सेवा नै यति महँगो हुँदा गरिब तथा विपन्न नागरिकको जीवनसँग खेलबाड भएको स्थानीयको गुनासो छ । जिल्ला एम्बुलेन्स समितिले भने भाडादर दूरी, इन्धन खर्च, मर्मतसम्भार तथा चालक खर्चलाई आधार मानेर निर्धारण गरिएको जनाएको छ ।
जुम्लामा १७ ओटा एम्बुलेन्स र एक शवबहान सञ्चालनमा छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र आठ स्थानीय तहका १७ ओटा एम्बुलेन्स र एक शवबहान सञ्चालनमा छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तीन वटा, गुठीचौर एक वटा, पातारासी दुई ओटा र तातातोपानी एक वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।
यस्तै, तिला एक ओटा, सिंजा दुई ओटा, कनकासुन्दरीमा दुई ओटा र हिमा गाउँपालिकामा चार ओटा एम्बुलेन्स रहेका छन् । चन्दननाथमा एक ओटा एम्बुलेन्स र एक शववहान सञ्चालनमा छन् ।