नेपालगञ्ज उपमहानगरपालिका भित्रकै मनिकापुर गाँउ लालपुर्जाविहीन छ । अस्थायी लालपुर्जा र एउटा कागजको भरमा मनिकापुरमा ठूलो लगानीमा ठुल्ठूला भवन निर्माण भइरहेको छन् ।
यसमा न घरधनी सुरक्षित छन् न त सरकारले राजस्व पाएको छ । यसले पनि व्यापरिक शहर नेपालगञ्ज उपामहानगरपालिका नै लालपुर्जाविहीन सहरका रूपमा चिनिन थालेको छ ।
नेपालगञ्जको मनिकापुरका ७५ प्रतिशत नगरिक लालपुर्जाको आशमा बसेको ५० वर्ष बितिसकेको छ । मनिकापुरमा प्रत्येक निर्वाचनमा मुख्य लालपुर्जा बन्ने गरेको छ ।
०४६ सालपछि कांग्रेस र तत्कालीन एमालेले अधिकांश समय तत्कालिन गाविसको सत्ता सञ्चालन गर्दै आए पनि कसैले लालपुर्जा पाउन नसकेको वर्तमान वडा अध्यक्ष कृष्ण कार्की बताउँछन् ।
सविकको मनिकापुर गविस अहिले नेपालगञ्ज उपमहानगरपालिकामा गभिएर वडा नम्बर २० भएको छ । चुनाव सकिएपछि लालपुर्जा मद्दा सेलाउने गरेको जनप्रतिनिधि कार्कीले बताए ।
मनिकापुरका मदनापुर, नयाँबस्ती, थपवा, बाबाघाट, फारमछोल, गायत्रीनगर, प्रेमनगर, पोतेदारपुरलगायतका गाउँ अहिले पनि लालपुर्जाविहिन अवस्थामा रहेको वडाअध्यक्ष कार्कीले बताए ।
यी टोलका ७५ प्रतिशत नागरिक लालपुर्जाको पर्खाइमा छन् । घरजग्गाको लालपुर्जा नहुँदा करोडौ लगानी गरेर बनाएका घर सम्पत्तिको मूल्याङ्कन हुन सकेको छैन ।
‘बैङ्कले ऋण दिँदैन । उद्योग कारखाना चल्दैन ।’–वडाअध्यक्ष कार्कीले भने–‘२०२४ सालदेखि बसोबास गर्दै आएका व्यक्ति समेत अझै लालपुर्जाको आसमा छन् ।’
‘जुनसुकै पार्टीको सरकार बने पनि मनिकापुरबासीको माग कहिल्यै सुनुवाइ भएन ।’–स्थानीय लक्ष्मी शर्माले भने–‘पुर्जा त चुनावी नारा मात्रै भए । गएको स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवारले पुर्जा दिलाउने कुरा महत्वसाथ उठाएका थिए ।’
उनले थपे–‘घर बनाएर बसेको २५ वर्ष भइसक्यो । तर, लालपुर्जा हातमा छैन । हामी जग्गा अतिक्रमण गरेर बसेको पनि होइन । तर, सुकुम्बासी जस्तै भएका छौँ ।’
अहिले मनिकापुरमा २८ लाख ५ हजार ८ सय ४० जनसङ्ख्या रहेको छ । जसमा १ लाख ९४ हजार २ सय ३८ पुरूष र १ लाख ८७ हजार ६ सय ९ जना छन् ।
मनिकापुरमा रहेको ६७ हजार दुई सय ६९ घरधुरी लालपुर्जाविहिन रहेको वडाअध्यक्ष कार्की बताउँछन् ।
उनका अनुसार थपुवामा मात्रै १ हजार ४ सय, नयाँबस्तीमा ७ सय ८७, पोथेदारपुरमा ८ सय ९६, मदनापुरमा १ हजार घरधुरी वर्षौँदेखि लालपुर्जाविहीन छन् ।
करिब ५० वर्षदेखि पुर्जाविहीन उक्त वडामा अहिले साना, मझौला र ठूला गरी एक दर्जन बढी विभिन्न उद्योगहरू स्थापना भएका छन् ।
अधिकांश उद्योगको भौतिक संरचना लालपुर्जाविहिन जमिनमै निर्माण गरिएका छन् । यसरी अस्थायी जमिनमा स्थायी संरचना बनीसकेपनि नेपालगञ्ज उपमहानगरपालिकाले मनिकापुरबासीलाई लालपुर्जा दिने तर्फ अहिलेसम्म कुनै चासो देखाएको छैन् ।
स्थानीयले स्थायी लालपुर्जाका लागि वडा कार्यालय मार्फत नगरपलिका र सरकारसँग पटक पटक माग गर्दै आएका छन् । तर ५० वर्षदेखि कसैले पनि चासो नदेखाएको स्थानीय कमला शर्मा बताउँछिन ।
स्थानीय मागअनुसार सिङ्गो गाउँलाई नै लालपुर्जा उपलब्ध गराउँनका लागि आफुले वडा कार्यालय मार्फत उपमहानगरपालिकामा प्रस्ताव राखेको वडाअध्यक्ष कार्कीले बताए ।
‘वडाले केही गर्न सक्दैन ।’–उनले भने–‘उपमहानरपालिकामा कुरा पु¥याएको छु । तर, सुनुवाइ हुनसकेको छैन । म निरन्तर लागिरहेको छु ।’