INSEC Online

📅 २०८३ जेष्ठ २१

धम्की दिँदै चन्दा सङ्कलन गरेको आरोपमा दुई जना गिरफ्तार

माओवादी कार्यकर्ता हुँ भन्दै धम्की दिँदै चन्दा सङ्कलन गरेको आरोपमा प्रहरीले पोखराबाट दुई जनालाई फागुन ३ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा तनहुँको व्यास नगरपालिका–१३ छाब्दीका ३२ वर्षीय लक्ष्मण पाण्डे (अग्नि) र कास्कीका माछापुच्छ्रे गाउँपालिका–२ का ३७ वर्षीय भीमसेन परियार रहेका छन् । प्रहरीका अनुसार पाण्डे नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का केन्द्रीय सदस्य तथा परियार सोही पार्टीका जिल्ला सेक्रेटरी हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई गिरफ्तार गरेको हो ।

कास्कीका डिएसपी तथा सूचना अधिकारी हरिबहादुर बस्नेतले गिरफ्तार दुवै जनाविरुद्ध चन्दा ऐन सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको र कास्की जिल्ला अदालतबाट थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति लिएको जानकारी दिनुभयो । निर्वाचनको मुखमा चन्दाका नाममा अवैध असुली तथा त्रास फैलाउने गतिविधि हुन नदिन प्रहरी निगरानी बढाइएको समेत बस्नेतले जानकारी दिनुभयो ।

सञ्जय रानाभाट

अन्य

भिडियो