INSEC Online

📅 २०८३ जेष्ठ २१

विकटका गाउँबस्तीमा उम्मेदवार नपुग्दा समस्या सुनाउन नपाएको गुनासो

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले चुनावी प्रचार–प्रसारका कार्यक्रमलाई तीव्र बनाइरहेका छन् । जुम्लामा प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको छ । यहाँ एक स्वतन्त्रसहित १० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । सदरमुकाम खलंगा आसपासका गाउँबस्तीमा उम्मेदवार र तिनका कार्यकर्ता प्रचार सामग्रीसहित सक्रिय देखिन्छन् । नजिकका गाउँहरूमा उम्मेदवारहरूको आमनेसामने भेटघाटसमेत हुने गरेको छ । कतिपय बस्तीमा उम्मेदवारहरू दोहोर्‍याएर पुग्ने गरेका छन् ।

तर तिला गाउँपालिका–९ खोप्रीगाउँ, कनकासुन्दरी गाउँपालिका–१ सिप्टी–मार्फा गाउँ र पातारासी गाउँपालिका–३ हुरीमहरीजस्ता विकट बस्तीमा भने चुनावी चहलपहलबाट टाढा छन् । त्यहाँका मतदाताले चुनाव आएको अनुभूति नै गर्न पाएका छैनन् । सडक सञ्जालमा नजोडिएका यी बस्तीका बासिन्दा खेतीपाती र दैनिकीमै व्यस्त देखिन्छन् । यस्ता विकट गाउँमा अधिकांश उम्मेदवार पुग्ने गरेका छैनन् ।

तिला गाउँपालिका–९ स्थित माथिल्लो खोप्री र तल्लो खोप्री गरी दुई बस्ती रहेका छन् । माथिल्लो खोप्रीमा ३५ र तल्लो खोप्रीमा २१ घरधुरी छन् । स्थानीय अगुवा तथा शिक्षक छविलाल थापाका अनुसार निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा पनि कुनै उम्मेदवार खोप्री गाउँ पुगेका छैनन् । ‘अघिल्ला निर्वाचनमा पनि यहाँ खासै कोही आएनन् । गाउँमा सडक, बिजुली, खानेपानी, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत समस्या यथावत् छन्,’उहाँले भन्नुभयो ।

तिला गाउँपालिका–९ राँसा मालापानी र तातोपानी गाउँपालिका–७ कयरकोटसम्म सडक पुगेको छ । यी दुवै स्थानबाट करिब ९–१० किलोमिटर दूरीमा खोप्री गाउँ पर्दछ । एक तर्फबाट सडक गाउँसम्म पुर्‍याइदिन पटक–पटक आग्रह गरे पनि कसैले सुनुवाइ नगरेको थापाले बताउनु भयो ।

स्थानीयका अनुसार सडक पूर्वाधार विकासको मेरुदण्ड भए पनि अभावकै कारण बिजुली र खानेपानी जस्ता अन्य पूर्वाधार विस्तार हुन सकेका छैनन् । खोप्रीका दुई बस्तीमा दुईवटा मूलबाट खानेपानी आपूर्ति हुने भए पनि पर्याप्त छैन । स्थानीयले रातिसम्म पालो कुर्नुपर्ने अवस्था रहेको अर्का स्थानीय अगुवा देविलाल थापाले बताउनु भयो ।

यहाँको स्वास्थ्य सेवाको अवस्था पनि कमजोर छ । उहाँका अनुसार सामान्य उपचारका लागि सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा रहे पनि प्रसूति सेवा लिन राँसा मालापानी स्वास्थ्य चौकी पुग्न करिब नौं किलोमिटर हिँड्नुपर्छ । माघ दोस्रो साता खोप्रीकी २७ वर्षीया रमिता थापालाई बर्थिङ सेन्टर लैजाँदै गर्दा बाटोमै शिशु जन्मिएको स्थानीयले बताएका छन् । यसअघि पनि बर्थिङ सेन्टर लैजाने क्रममा आधा दर्जनभन्दा बढी महिलाले बाटोमै सुत्केरी हुनुपरेको थियो ।

शिक्षा क्षेत्रको अवस्था पनि उस्तै छ । माथिल्लो खोप्रीमा कक्षा १ देखि ८ सम्म पढाइ हुने नदैदेवी आधारभूत विद्यालयमा ६० विद्यार्थी छन् । दुई अनुदान र तीन दरबन्दी गरी पाँच शिक्षकले अध्यापन गरिरहेका छन् । तल्लो खोप्रीमा पनि कक्षा १ देखि ६ सम्म पठनपाठन हुने सामुदायिक विद्यालय सञ्चालनमा छ । तर दुवै विद्यालयका भौतिक संरचना जीर्ण अवस्थामा रहेका छन् ।

‘गाउँमा थुप्रै समस्या छन् । उम्मेदवार आए समस्या राखौंला भन्ने थियो । तर अहिलेसम्म कोही पुगेका छैनन्,’स्थानीय देविलालले भने । स्थानीय बासिन्दाले चुनावी मौसममा मात्र नभई नियमित रूपमा विकट बस्तीका समस्यातर्फ राज्य र राजनीतिक दलको ध्यान जानुपर्ने माग गरेका छन् ।

मानदत्त रावल

अन्य

भिडियो