INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिताको पालनामा गम्भीर बन्न आयोगको निर्देशन

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मानव अधिकारको अवस्थाको अनुगमनका क्रममा राष्ट्रिय मानव अधिकार आयोगले ०८२ माघ २२ गते निर्वाचनमा पर्यवेक्षण गर्ने विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग अनुगमन/पर्यवेक्षणको प्रभावकारिताको सम्बन्धमा छलफल गरेको विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरूबाट भैरहेको अनुगमनबाट विभिन्न तथ्य प्राप्त गरेको र छलफलका सहभागीहरुले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउनुपर्नेमा जोड दिएको विषय उक्त विज्ञप्तीमा उल्लेख छ ।

राजनीतिक दलका केही नेताहरू र उम्मेदवारहरुले एक अर्को दल, नेता र उम्मेदवारप्रति अमर्यादित भाषा प्रयोग गरी घृणाजन्य अभिव्यक्ति दिएको, अन्य व्यक्तिको मर्यादामा आँच आउने प्रकृतिका सामग्री उत्पादन गरी डिजिटल प्रविधिको माध्यमबाट प्रचारप्रसार गरिएको, मतदाताहरूलाई कुन दल/नेतालाई भोट दिने ? भनी प्रश्‍न सोध्ने र त्यसलाई भिडियो/अडियो रेकर्ड गराई सामाजिक सञ्जालमा राखी मतदाताको गोप्य मतदानको अधिकार र गोपनियताको हक उल्लङ्घन गरेको पाइएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता केही दल र उम्मेदवारहरुबाट उल्लङ्घन भएकोे, निर्वाचनपूर्व नै अमूक उम्मेदवारले जित्छ भनी समाचार तयार गरी भ्रम सिर्जना गरेको र केही राजनीतिक दलका कार्यालयहरूमा तोडफोड भएको पाइएको विज्ञप्तीमा उल्लेख छ ।

मतदाता शिक्षा प्रभावकारी हुन नसकेको स्मरण गर्दै निर्वाचनको क्रममा एक अर्काप्रति घृणायुक्त आरोप प्रत्यारोप नगर्न, कोही कसैले पनि सामाजिक सञ्जालको दुरुपयोग नगर्न आयोगले निर्देशन दिएको छ ।

त्यस्तै मतदाताको गोपनियताको हकमा प्रभाव नपार्न, भ्रमपूर्ण समाचार प्रकाशन÷प्रसारण नगर्न र हिंसात्मक क्रियाकलाप बन्द गर्न आयोगले सुझाव दिएको छ । मतदाता शिक्षालाई प्रभावकारी बनाउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको आयोगका प्रवक्ता एवम् सहसचिव डाक्टर टीकाराम पोखरेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

दीपकप्रसाद घिमिरे

अन्य

भिडियो