INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रियसभामा गण्डकी प्रदेशबाट दुई जना निर्वाचित, सांसद र जनप्रतिनिधिकै मत बदर

गण्डकी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेका साझा उम्मेदवार विजयी भएका छन्। अन्य समूहतर्फ नेपाली कांग्रेसका जगत् तिमिल्सिना र महिलातर्फ नेकपा एमालेकी सम्झना देवकोटाले फराकिलो मतभारका साथ निर्वाचित भएकी हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्य समूहमा विजयी भएका जगत् तिमिल्सिनाले ५ हजार ३३ मतभार प्राप्त गरे। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका कपिल लामालाई ४ हजार ९२ मतभारको अन्तरले पराजित गरे। लामाले ९ सय ४१ र राष्ट्रिय जनमोर्चाका शंकर प्रसाद बरालले ७६ मतभार मात्र ल्याए ।

महिला समूहतर्फ एमालेकी सम्झना देवकोटा ५ हजार १४ मतभारसहित विजयी भइन्। उनकी निकटतम प्रतिस्पर्धी नेकपाकी गोमा लुइँटेल घिमिरेले ९ सय ४१ मतभार प्राप्त गरिन् भने जनमोर्चाकी लक्ष्मी बाँस्कोटाले ७६ मतभार पाइन्। विजयी दुवै उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र वितरण गरिसकेको छ।

शिक्षित मानिने प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखहरूले समेत मतदानमा त्रुटि गर्दा ७ वटा मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 

सञ्जय रानाभाट

अन्य

भिडियो