कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित बैजनाथ आधारभूत विद्यालयमा कार्यरत ४८ वर्षीय शिक्षकलाई ०८२ माघ ९ गते जातीय विभेद गरेको आरोपमा कृष्णपुर नगरपालिका–१ निवासी बैजनाथ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर कुमार भण्डारी विरुद्ध पीडित पक्षले माघ ९ गते नै शिक्षक महासंघमा निवेदन दिएका छन् ।
विद्यालयमा आयोजना गरिएको सरस्वती पूजामा सहभागि अन्य शिक्षकहरुलाई अध्यक्ष भण्डारीले टिका लगाइदिएको भए पनि शिक्षक सार्कीलाई टिका पातका राखेर हातमा दिएर जातीय विभेद गरेको भन्दै पीडित पक्षले न्यायका लागि शिक्षक महासंघमा उजुरी दिएका हुन् ।
व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले सार्की बाहेक अन्यलाई टिका लगाउनु र सोही विद्यालयका शिक्षक सार्कीलाई विद्यालय जस्तो पवित्र र सार्वजनिक ठाउँमा टिका पातमा ल्याई हातमा दिई अपमानजनक, अमानवीय व्यवहार गर्दै जातीय विभेद गरिएको भन्दै शिक्षक महासंघले माघ १० गते प्रेश विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको छ ।
सार्वजनिक कार्यक्रममा गरिएको जातीय विभेद घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय ऐन २०६८) ले सार्वजनिक स्थानमा जातीय आधारमा गरिने कार्यलाई दण्डनीय अपराध मानेकोले घटनामा संलग्न विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदबाट हटाई प्रचलित कानुन अनुसार कारवाही गर्न समेत शिक्षक महासंघले माग गरेको छ ।
