फागुन २१ गतेका लागि घोषित निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय हुन निर्वाचन आचारसंहिताको पालना आवश्यक रहेको स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले जनाएको छ । अभियानले माघ ८ गते एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा संलग्न सबै सरोकारवाला, राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा मतदाताहरूलाई निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्न आह्वान गरेको छ ।
अभियानका अध्यक्षद्वय विजयराज गौतम र इन्द्रप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचन प्रक्रियामा हुने हिंसा, डरत्रास, मतदाता प्रलोभन, सरकारी स्रोतसाधनको दुरूपयोग, घृणात्मक अभिव्यक्ति, गलत सूचना तथा सामाजिक सञ्जालको दुरूपयोगले निर्वाचनको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने र यस्ता गतिविधिहरूलाई रोक्न निर्वाचन आयोगद्वारा जारी आचारसंहिता पालना बाध्यकारी हुनुपर्ने उल्लेख छ ।
विज्ञप्तिमा निर्वाचन आयोगलाई आचारसंहिता कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्न तथा उल्लङ्घनका घटनामा निष्पक्ष र कडाइका साथ कारबाही गर्न अनुरोध गरिएको छ । निर्वाचनका सम्पूर्ण प्रक्रिया नजिकाबाट नियालिरहेको उल्लेख गर्दै अभियानले भनेको छ ‘मनोनयनका क्रममा देखिएको उत्साह र जन सहभागिता प्रशसंनीय छ । तर, केही स्थानमा देखिएको तडकभडक र उत्तेजक गतिविधि आचारसंहिता विपरीत छन् ’ । विज्ञप्तिमा सुरक्षा निकायलाई शान्ति सुरक्षा कायम गर्न निष्पक्ष र व्यावसायिक भूमिका निर्वाह गर्न तथा सञ्चारमाध्यमलाई जिम्मेवार, तथ्यपरक र सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ ।