INSEC Online

📅 २०८३ जेष्ठ २१

नवयुवा पुस्ताको आन्दोलन, जनयुद्धदेखि भदौ २३ सम्म

“मैले पनि देशकै लागि भनेर लडेँ, छोरा पनि देशकै लागि सहिद भयो, अब कहिलेसम्म नेपालीले देशका लागि भनेर लडिरहनु पर्ने हो ?”, बालकिशोरले प्रश्न गर्दै भन्नुभयो ।

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल हुनु भएको थियो ।

०५२ साल फागुन १ गतेदेखि सुरू भएको ‘जनयुद्ध’मा क्रान्तिको विगुल फुक्दै हिँड्नुभएका कुलुङले करिब एक दशक माओवादी आन्दोलनको अग्रमोर्चामा बिताउनु भयो । मुलुकमा गणतन्त्र आएपछि केही परिवर्तन होला भन्ने उहाँलाई लागेको थियो । त्यसपछिका दुई दशकमा भित्ताको पात्रो फेरिने बाहेक जनताले महसुस गर्ने परिवर्तन कुलुङले देख्न पाउनु भएन ।

मुलुकमा बढ्दो भ्रष्टाचार, अनियमितता र कुशासनको ग्राफ उस्तै गरी बढ्यो । त्यसो त उहाँ भूमिगत राजनीतिक यात्रालाई विराम लगाउँदै पारिवारिक जीवनमा फर्किनुभयो । राजनीतिक परिवर्तन सफल भए पनि जनताको अवस्थामा सोचेजस्तो परिवर्तन नहुँदा क्रान्ति पुनः जन्मिन्छ भन्ने उहाँलाई लाग्ने गथ्र्यो । भइदियो पनि त्यस्तै ।

आफूले लडेर ल्याएको राजनीतिक परिवर्तनको जगमा आफ्ना सन्तानले कुनै न कुनै दिन फेरि समृद्धिको ढोका खोल्नेछन् भन्ने अटल विश्वास थियो उहाँमा । सामाजिक सञ्जालमा हुर्किएको र विश्वपरिवेश बुझेका नवयुवा पुस्ता मुलुकको पछिल्लो अवस्थाप्रति सन्तुष्ट थिएनन् ।

मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, निष्क्रिय पारिएको सामाजिक सञ्जाल सक्रिय पार्नुपर्ने, जनताप्रति सरकारको जवाफदेहीतालगायत माग राख्दै जेनजीले ०८२ भदौ २३ गते भद्र विरोध प्रदर्शन आयोजना गरे । सो आन्दोलनमा बालकिशोरका माइला छोरा प्रविण पनि सहभागी हुनु भयो ।

भदौ २३ गते प्रविण र उहाँका भाइ मौसम दुवैजना विरोध प्रदर्शन भएको क्षेत्रमा सहभागी हुनुभयो । प्रदर्शनस्थलमा एकाएक गोली चलेपछि दुवैजना सुरक्षित स्थलतर्फ लागे । दर्जन बढीले आँखै अगाडि ज्यान गुमाए । त्यसदिन प्रविण र भाइ मौसम दुवै जना सकुशल कोठामा फर्कनुभयो । तर, अघिल्लो दिनको दृश्यले उहाँहरुलाई झनै छटपटी भयो । डरत्रासले रोकिने अवस्था रहेन । झनै आन्दोलनमा सहभागी हुने जोश पलायो । आन्दोलनमा राज्यपक्षबाट भएको बल प्रयोग र त्यसबाट भएको मानवीय क्षतिले दाजुभाईलाई नै मर्माहत बनायो । २४ गते बिहानै दाजुभाई पुनः आन्दोलमा सडकमा ओर्लिए ।

गौशालामा भएको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर २१ वर्षीय दाजु प्रविण ढल्नुभयो । भाइ मौसमले अन्य साथीको सहयोगमा अस्पताल पुर्‍याउँदा प्रविणले ज्यान गुमाइ सक्नु भएको थियो । प्रविणको दायाँ छातीमा गोली लागेको थियो । भाइ मौसमले दाजुको निधनको खबर लुकुवा गाउँमा रहेका आमाबुबालाई सुनाउनु भयो । ज्यान हत्केलामा राखेर देशका लागि लड्नुभएका बालकिशोरलाई छोरा सहिद भएपछि परेको पीडा मापन गर्ने कुनै यन्त्र छैन । “मैले पनि देशकै लागि भनेर लडेँ, छोरा पनि देशकै लागि सहिद भयो, अब कहिलेसम्म नेपालीले देशका लागि भनेर लडिरहनु पर्ने हो ?”, बालकिशोरले प्रश्न गर्दै भन्नुभयो, “देशमा आमूल परिवर्तन ल्याएर अब कसैले पनि बलिदानी गर्न नपरोस् ।” लाउने खाने उमेरमा छोरो गुमाउनु परेपछि बुबा बालकिशोर विक्षिप्त हुनु भएको छ ।

प्रविणलाई सरकारले सहिद घोषणा गरिसकेको छ । तर, छोराको सपनाको पूरा हुन्छ कि हुन्न भन्ने चिन्ताले सधैँ बालकिशोरलाई सताउने गरेको छ । जेनजी आन्दोलनको नेतृत्व गरेकाहरु अहिले विभिन्न गुटमा विभाजित भएको देख्दा उहाँको मन खिन्न छ । सहिदका सपना पुरा गर्न सहिद परिवारबीचको एकता अपरिहार्य भएको बालकिशोरको भनाइ छ । “सहिदले उठाएको मुद्दा सम्बोधन र सपना पूरा हुनुपर्छ”, उहाँले भन्नुभयो, “राज्यले राहत दिने मात्रै होइन, सहिदका सपनापनि पुरा गर्नुपर्छ ।”

प्रविण एक वर्षअघि मात्र कोरियन भाषा पढ्न काठमाडौँ जानुभएको थियो । उहाँले भाषा परीक्षा पास गरेर कोरिया जाने र पारिवारिक समृद्धि ल्याउने योजना बनाउनु भएको थियो । जेनजी आन्दोलनमा प्रविणको निधन भएपछि बुबा बालकिशोर र आमा मालतीको सपना पनि ढलेको छ । प्रविणका कान्छा भाइ मौसम भन्नुहुन्छ, “दाजुले जुन चाहनाले देशका लागि बलिदान दिनुभयो, सहिदको सपना पूरा गर्न सरकार र सम्बद्ध पक्षले ध्यान दिनुपर्छ ।”प्रविणका बुबाआमा गाउँमै खेती किसान गर्दै आउनु भएको छ । सहिद कुलुङको गाउँ लकुवा सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दूरीमा पर्दछ । सरकारले सहिद घोषणा गरेपछि सिलिचोङ गाउँपालिकामा निर्माणाधीन अपर सङ्खुवा जलविद्युत् आयोजनाले उहाँको परिवारलाई १ लाख ७४ हजार ३ सय ५ रुपियाँ आर्थिक सहयोग गरेको थियो । प्रविणको ०८२ असोज १ गते सिलिचोङ गाउँपालिका–३ स्थित लकुवामा अन्त्येष्टि गरिएको छ । मृत्यु भएको १० दिनपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत विराटनगर हुँदै उहाँको शव सिलिचोङ ल्याइएको थियो ।

सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कुमा कुलुङको पार्थिव शरीरमा गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गर्नुभएको थियो । त्यसपछि कुलुङको शव यात्रासहित जन्म गाउँ लकुवामा लगेर अन्त्येष्टि गरिएको हो । बालकिशोरका छोरामध्ये प्रविण माइलो हुनुहुन्थ्यो । जेठो छोरा नेपाली सेनामा कार्यरत हुनुहुन्छ ।

लकुवामा ०६० असोज ९ गते जन्मिनु भएका प्रविणले गाउँकै सगरमाथा माध्यमिक विद्यालयबाट कक्षा १० र काठमाडौँको पुष्पलाल क्याम्पसबाट कानुन विषयमा कक्षा १२ उतीर्ण गर्नु भएको थियो । उहाँ स्नातक तह पहिलो वर्षमा अध्ययनरत हुनुहुन्थ्यो ।

दुवै पुस्ता विद्रोही चेतले भरिएको कुलुङ परिवारको तेस्रो पुस्ताले भने देशका लागि बलिदानी दिनु नपरोस् भन्ने बालकिशोरका परिवारका अन्य सदस्यको चाहना छ ।

भविन कार्की

अन्य

भिडियो