INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारले निर्वाचनको वातावरण बनाउन सकेन : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भयरहित वातावरणमा मतदाताले मतदान गर्ने गरी सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउनु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल मानव अधिकार सङ्गठनले ०८२ माघ ३ गते सुनसरीको इटहरीमा आयोजना गरेको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रियाका कार्यक्रममा मुख्यमन्त्री कार्कीले मतदाताले ढुक्क भएर मतदान गर्ने वातावरण सरकारले बनाउन नसकेको बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले राजनीतिक दलसहित मतदाताले ढुक्कका साथ निर्वाचनमा भोट हाल्ने वातावरण नबनाएका कारण तोकिएको मितिमा निर्वाचन हुने वा नहुनेमा सबै अन्योलतामा रहेको बताउनु भयो । उहाँले मतदाताले भयरहित वातावरणमा भोट हाल्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो ।

 कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मुख्यमन्त्री कार्कीले सबैले भयरहित र निष्पक्ष वातावरणमा निर्वाचन होस् भन्ने कामना गरेपनि वर्तमान सरकारले सङ्गठित अपराधलगायतका मुद्दा फिर्ता लिएको अवस्थाले सरकारले कुन नियत राखेर निर्वाचन गराउन लागेको भन्ने विषय शङ्कास्पद रहेको बताउनु भयो । उहाँले कारागारबाट भागेका कैदीबन्दी र सुरक्षा निकायबाट लुटिएको हतियार सरकारले फिर्ता ल्याउन नसकेको अवस्थामा भयरहित ढङ्गमा निर्वाचन हुने अवस्था नभएको बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा इन्सेकका अध्यक्ष विजयराज गौतमले नेपालको मानव अधिकार अभियानको पर्याय बनेको इन्सेकले अघिल्ला निर्वाचनमा जस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्ने बताउनु भयो । उहाँले भदौ २३ र २४ गतेको आन्दोलनपछि राजनीतिक सचेतनाका आधारहरू हरेक क्षेत्रमा देखिएकाले इन्सेकले समेत स्वच्छ र निष्पक्ष वातावरणमा निर्वाचन भएको नभएको पर्यवेक्षण गर्ने बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका डिआइजी विनोद घिमिरेले अघिल्ला निर्वाचनमा भन्दा सुरक्षाका दृष्टिले भरपर्दो वातावरण आगामी दिनमा हुने देखिएको बताउनु भयो । उहाँले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रमा मतदानस्थलको वर्गीकरण गरी सुरक्षा रणनीति लागू गरिएकाले निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा प्राध्यापक कृष्णप्रसाद पोखरेलले जनताले मत दिएर पठाएका निर्वाचितहरूले सत्तामा लुछाचुँडी मात्र गर्ने र भागवण्डा मिलाएर खाने तर जनतालाई कुनैपनि किमिसको सुविधाको प्रत्याभूति गराउन नसकेकाले भदौ २३ र २४ गतेको आन्दोलन भएको बताउनु भयो । उहाँले निर्वाचनले मात्र लोकतन्त्रको स्थायित्व नहुने तर निर्वाचितहरूले जनताका समस्यालाई सम्बोधन गरेको खण्डमा मात्र लोकतन्त्र स्थायी हुने बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेलले नेपालका राजनीतिक दल जनताप्रति इमानदार नभएका कारण मुलुकमा विभिन्न खाले अफ्ठ्यारा अवस्थाहरू सिर्जना भएको बताउनु भयो । उहाँले नेपालका राजनीतिक दल र तिनका प्रतिनिधिले मसिनो गरी मानव अधिकारका सवाल र नेपाल सरकारले मानव अधिकार स्थापनाका लागि अन्र्तराष्ट्रिय रूपमा गरेका अनुमोदनको महत्वलाई बुझ्न नसक्दा नेपालमा हरेक निर्वाचनमा मानव अधिकारका सवाल जोडिदै आएको बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका तर्फबाट जगदिशप्रसाद ओलीले निर्वाचनमा कसरी भोट हाल्ने र किन भोट हाल्ने विषयमा विद्यालयस्तरको पाठ्यक्रममै समावेश गर्न आवश्यक रहेको बताउनु भयो ।

वरिष्ठ पत्रकार यज्ञ शर्माले निर्वाचन भयरहित र निश्पक्षढङ्गबाट सम्पन्न गराउनका लागि नेपालमा इन्सेक र नेपाल मानव अधिकार संगठन मानव अधिकारका सवालमा पर्यायजस्तै भएकाले नागरिक समाजले मतदातालाई आश्वस्त पार्न आवश्यक रहेको बताउनु भयो ।

वुद्धिजीवी दिनेश श्रेष्ठले आगामी निर्वाचनमा राजनीतिक दलहरु कति इमान्दार भएर निर्वाचनमा सहभागी हुने हुन त्यसले निर्वाचनको वैधता हुने वा नहुने तय गर्ने बताउनु भयो । उहाँले निर्वाचन अपरिर्हाय भएकाले प्रमुख राजनीतिक दलले जनताका लागि भएपनि आगामी निर्वाचनमा इमान्दार भएर सहभागी हुन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा एसओएस भिलेज इटहरीका निर्देशक डिसी चौधरीले निर्वाचनमा राजनीतिक दलले बालबालिकालाई चुनावी प्रचार अभियानमा संलग्न गराउने गरेका कारण बाल अधिकारका सवाल राजनीतिक दलबाटै प्रभावित भएको बताउनु भयो । उहाँले चुनावमा बालबालिकाको प्रयोग भएको विषयमा मानव अधिकारकर्मीले खरो रूपमा खबरदारी गर्न आवश्यक रहेको बताउनु भयो ।

नेपाल मानव अधिकार सङ्गठनका संस्थापक अध्यक्ष आनन्द आचार्य राजनीतिक दलका प्रतिनिधिले जनताको भावना अनुसार देशमा विकासका आधारहरू सिर्जना गर्न नसक्दा नवयुवा पुस्ताले भदौ २३ गते आन्दोलन गर्नुपरेको बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा पाँचथर, फिदिम नगरपालिका मेयर मित्रदेव काफ्लेले लोकतन्त्रको आधार निर्वाचन भएको र स्वच्छ निर्वाचनले मात्र लोकतन्त्रको स्थायित्व हुने बताउनु भयो ।
नेपाल मानव अधिकार सङ्गठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालले निर्वाचन पर्यवेक्षण सुन्दा सजिलो विषयजस्तो सुनिएपनि स्वच्छ र निश्पक्ष निर्वाचनका लागि निर्वाचन पर्यवेक्षणको निकै महत्व रहेको बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका अधिकारकर्मी, पत्रकार, अभियान्तालगायतको सहभागिता थियो । अन्तरक्रिया कार्यक्रममा आगामी चुनावमा प्रमुख राजनीतिक दलको भूमिका, सामाजिक सञ्जालको प्रयोग, निर्वाचन सुरक्षा, मतदाता शिक्षालगायतका विषयमा चर्चा भएको थियो ।

जयकृष्ण यादव

अन्य

भिडियो