झापाका प्रमुख जिल्ला अधिकारीलाई डोमालाल राजवंशी रंगशालामा ०८२ पुस २९ गते आयोजना गरिएको भक्का दिवसमा अपशब्द बोलेको आरोपमा प्रहरीले कनकाई नगरपालिका–९ का ४४ वर्षीय अभय राजवंशीसहित तीन जनालाई पुस ३० गते गिरफ्तार गरेको छ।
प्रहरीले अभय राजवंशीलाई बिर्तामोड नगरपालिका–१ मा रहेको नाइटलाईफ डान्सबारबाट गिरफ्तार गरेको हो।
नाइटलाइफ डान्सबारकी सञ्चालिका ४२ वर्षीया नविना राजवंशी र बिर्तामोड नगरपालिका– १ का ४१ वर्षीय रमेश राजवंशीसमेत गिरफ्तार गरेको छ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई पुस २९ गते अपशब्द प्रयोग गरेको आरोपमा अभय राजवंशीलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले अभय राजवंशीलाई ०८२ पुस ३० गते कार्यालय समयभित्र उपस्थित गराइदिन प्रहरीलाई पत्र पठाएको थियो ।
जिल्ला प्रशासन कार्यालय झापाको पत्र आदेश अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको डिएसपी देवराज निरौलाको टोलीले डान्सबारमा रहेका अभय राजवंशीसहित अरु दुई जनालाई गिरफ्तार गरेको हो ।
नियन्त्रणमा लिने क्रममा नविना राजवंशी र रमेश राजवंशीले खटिएको प्रहरी टोलीलाई अभद्र ब्यवहार गरेको भन्दै उनीहरुलाई पनि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
नविना राजवंशीलाई आवश्यक परेको बखत उपस्थित हुने गरी उनका पति भरत राजवंशीको जिम्मा लगाई पुस ३० गते राति नै पठाइएको पठाइएको प्रहरीले जनाकएको छ ।
अभय राजवंशी र रमेश राजवंशीलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्ने जनाएको छ ।