सिन्धुलीको तीनपाटन गाउँपालिका–३ राम्चे कोलबोटेकी ५३ वर्षीया टंकमाया बुढाथोकीको ०८२ पुस ८ गते हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३० वर्षीय दीपक भन्ने शान्तिबहादुर बुढाथोकी र २९ वर्षीय सम्पत भन्ने चुक्तबहादुर कटुवाललाई पुस २२ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले पुस ९ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा खोजतलासका लागि उजुरी दिएपछि घटनाको अनुसन्धानका लागी प्रहरीले ड्रोन समेतको प्रयोग गरी खोजतलास गर्दा पुस २१ गते मृतकको घरबाट अन्दाजी १ कि.मि पर बाँसको झ्याङमा शव फेला परेको छ ।
शवको पोष्टमार्टम पुस २२ गते सिन्धुली अस्पतालमा गरी सोहिदिन सद्गतका लागी परिवारको जिम्मा लगाइएको छ ।
जिल्ला अदालतबाट पुस २३ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले बताउनु भयो ।
आरोपित दिपक भन्ने शान्ती बहादुर बुढाथोकी यस अघि ०७३ सालमा चोरी कसुरमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट गिरफ्तार गरी एक वर्ष कैद सजाय भुक्तान गरी छुटेका थिए ।