INSEC Online

📅 २०८३ जेष्ठ २१

ताप्लेजुङमा २ हजार ४ सय ९५ जनालाई अपाङ्गता परिचयपत्र

जिल्लामा २ हजार ४ सय ९५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

अपाङ्गता हुनु भएका २ हजार ५ सय ३० जनाको पहिचान भएपनि अझै ३५ जनालाई परिचयपत्र वितरण हुन सकेको छैन ।

राष्ट्रिय जनगणना ०७८ अनुसार जिल्लामा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या २ हजार ९ सय ७८ रहेको भएपनि जिल्लामा ०८२ पुस २७ गतेसम्मको अवधिमा २ हजार ५ सय ३० जना अपाङ्गता भएका व्यक्तिको मात्रै पहिचान भइसकेको छ । जसमध्ये २ हजार ४ सय ९५ जनाले मात्र अपाङ्गता परिचयपत्र पाउनु भएको छ ।

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्लास्तरीय प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा जिल्लामा ०८२ पुस २७ गतेसम्मको अवधिमा २ हजार ५ सय ३० जना अपाङ्गता भएका व्यक्तिको मात्रै पहिचान भएको विवरण सार्वजनिक गरिएको छ । जिल्लामा अझै ४ सय ४८ जनाको पहिचान हुन बाँकी छ ।

जिल्लामा सबैभन्दा बढी १ हजार ३ सय ७९ जना शारीरिक अपाङ्गता हुनु भएका व्यक्ति, बहुअपाङ्गता हुनु भएका २ सय ९६ जना, दृष्टिसम्बन्धी २ सय ६८ जना, सुनाईसम्बन्धी २ सय २७ जना र मानसिक तथा मनोसामाजिकसम्बन्धी अपाङ्गता हुनु भएका १ सय ४२ जना हुनुहुन्छ ।

स्वर बोलाईसम्बन्धी ९७ जना, बौद्धिकता सम्बन्धी ६७ जना, अपाङ्गताको प्रकार नखुलेका २४ जना, अटिजम भएका २२ जना र श्रवण दृष्टिविहीन आठ जना छन । ती मध्ये हालसम्म २ हजार ४ सय ९५ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरि सकेका छन भने ३५ जनालाई परिचय पत्र वितरणको प्रक्रियामा छ ।

अपाङ्गता रोकथामका लागि जिल्लामा गर्भ पूर्व र गर्भ पश्चात फोलिक एसिड वितरण, नवजात शिशुको जन्मदोष परीक्षण र जन्मदोष पहिचान भएका नवजात शिशुको उपचार कार्यक्रम सञ्चालन भइरहेको छ ।

१० वर्ष मुनिका बालबालिकाको विद्यालयमा स्वास्थ्य परीक्षण, अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि छात्रवृत्ति वितरण, सामाजिक सुरक्षा भत्तामा पहुँच, स्वास्थ्य उपचार सहयोग प्रदान जस्ता कार्यक्रम सञ्चालित छन् ।

एलिना दियाली

अन्य

भिडियो