सुनसरीको रामधुनी नगरपालिका-५ मा रहेको क्षेत्रीय कारागार कार्यालय, झुम्काबाट जेनजी आन्दोलनका क्रममा भागेका एक जना कैदीलाई प्रहरीले पुस २४ गते गिरफ्तार गरेको छ।
दमक नगरपालिका वडा-१ घर भई कन्काई नगरपालिका-८ सिर्जना टोलमा बस्बदै आएका ४६ वर्षीय संजय भनिने खगेन्द्र खरेललाई प्रहरीले ०८२ पुस २४ गते गिरफ्तार गरेको हो।
सार्वजनिक स्थानहरुमा पटक पटक बम बिष्फोट गराएर आतंक फैलाउँदै आएका संजय भनिने खगेन्द्र खरेललाई चौथो पटक प्रहरीले गिरफ्तार गरेको हो।
सनातन सुरक्षा सेना, नेपालका संयोजक संजय भनिने खरेललाई कन्काई नगरपालिकाको लक्ष्मीपुरमा रहेको साथीको घरमा लुकिछिपि बसिरहेको अवस्थामा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले गिरफ्तार गरेको डीएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।
खरेललाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत राज्यविरुद्ध कसुर र बिष्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गत इलाका प्रहरी कार्यालय बिर्तामोडबाट जिल्ला अदालतमा उपस्थित गराई पहिलो पटक अनुसन्धानको लागि पाँच दिन म्याद थप गरिएको छ।
पुस १९ गते बिहान कन्काई नगरपालिका वडा नं. ४ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत कन्काई पुलको पूर्वतर्फको सडकको डिभाइडरमाथि कालो झोलाभित्र उनले प्रेसर कुकर बम राखेका थिए । जसबाट शान्ति सुरक्षामा खलल पारी स्थानीयबासीमा डरत्रास उत्पन्न भएको थियो । सडक छेउमा बम राखेपछि सडकमा आवतजावतसमेत अवरुद्ध भएको थियो । सो बमलाई अरिदमन गण चारआलीबाट आएको टोलीले निष्क्रिय पारेको थियो ।
२०७६ सालमा गोर्खा जन्मुक्ति पार्टी, २०७८ सालमा हिमाल सुरक्षा परिषद, २०८२ सालमा सनातन सुरक्षा सेना, नेपाल पार्टीजस्ता संगठनको नाममा आतंक सिर्जना गरी उनले अवैध गतिविधि गरी शान्ति सुरक्षामा खलल पुर्याउने काम गर्दै आएको डीएसपी खड्काले बताउनु भयो।
यसअघि पनि खरेलले कन्काई पुलमा बम राखेर आतंक फैलाएका थिए । उनले २०७६ वैशाख ३० गते कन्काई नदीको पुलको रोड डिभाइडरमा कालो प्लाष्टिकमा बिष्फोटक पदार्थ राखेका थिए । त्यसको नौ महिनापछि २०७६ माघ ९ गते बिर्तामोड नगरपालिकाको पश्चिम स्टेण्डमा शंकास्पद वस्तु (होक्स) राखी शान्ति सुरक्षामा खलल पुर्याएका थिए । त्यस्तै २०७८ माघ १३ गते दमक नगरपालिका ५ स्थित शिवान चर्चमा शंकास्पद वस्तु (होक्स) राखेर अशान्ति मच्चाएका थिए ।
खरेलले झापामा मात्र नभएर पूर्वका अन्य स्थानहरुमा त्यस किसिमको आतंककारी गतिविधि गरेका थिए । २०७८ चैत १४ गते सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं.२ स्थित एक घरमा बम बिष्फोट गराएका थिए । इटहरी–२ नवजागृति टोलमा कोठामा बम विस्फोट हुँदा रबिन थापा र शेरजंग गुरुङ घाइते भएका थिए । त्यसबेला बिष्फोटक पदार्थसम्बन्धी कसूरमा पक्राउ परी उनले सजाय पाएका थिए । त्यस बखत उनी हिमाल सुरक्षा परिषद नेपालको अध्यक्ष भई सशस्त्र गतिविधिमा संलग्न रहेका थिए ।
त्यस्तै २०८१ फागुन १३ गते इटहरी उपमहानगरपालिकाअन्तर्गत भोटेपुल र उपमहानगरपालिका अगाडि पान दोकान छेउमा कालो ब्यागभित्र कुकुर बम राखेर उनी फरार भएका थिए । खोजतलासका क्रममा प्रहरीले उनीसहित दुईजनालाई गिरफ्तार गरेको थियो । बिष्फोटक पदार्थसम्बन्धी कसुरमा उनी झुम्का कारागार चलान भएका थिए ।