पाल्पा कारागारका पुरूष कैदी बन्दीहरूले कारागार भित्रै नाम्लो र दाम्लो बाटेर राम्रो आम्दानी गर्दैै आएका छन् ।
कारागारमा रहेका पुरूष बन्दीहरूले बुनेका नाम्लो तथा दाम्लोहरू तानसेन बजारका साथै बुटवल, चितवन र काठमाडौँका साथै विभिन्न मेला महोत्सवहरूमा विक्री गर्ने गरेको कारागारका बन्दी प्रेम कुमालले बताए ।
कारागारमा १ सय भन्दा बढी बन्दीहरूले बिहानदेखि साँझसम्म दाम्लो र नाम्लो बाट्ने गरेको कुमालले बताए । उनले भने–“बन्दीहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ नाइकेमार्फत उपलब्ध हुँदै आएको र उत्पादन गरिएका सामग्री पनि उनीहरूलाई फाइदा दिएर नाइके मार्फत नै पठाउने गरिएको छ ।” यसरी काम गरेर बन्दीहरूले मासिक रूपमा १० हजार रुपियाँसम्म फाइदा लिने गरेका छन् ।
कारागारकी जेलर भक्तिसरा रानाले पुरूष कैदी बन्दीहरूतर्फ आयआर्जनका लागि काम भएको तर महिलातर्फ त्यस्तो हुन नसकेको बताइन् ।
कैदीबन्दीहरू त्यसै गफ गरेर बस्नुभन्दा आय आर्जनका काममा लाग्दा राम्रो भएको उनले बताइन् । हाल कारागारमा कैद तोकिएका र नतोकिएका गरी २ सय ११ पुरूष र ५४ महिला रहेका छन् । त्यस्त तीन वर्षीय दुई जना बालक कारागारमा आश्रित रहेका छन् ।



