INSEC Online

📅 २०८३ जेष्ठ २२

सङ्घीयतापछि विकटमा आँखा उपचारको पहुँच बढ्दै

देश सङ्घीय संरचनामा गएर स्थानीय सरकार गठन भएपछि सहरदेखि ग्रामीण बस्तीसम्म आँखा उपचारको पहुँच पुग्न थालेको छ । सत्यवति गाउँपालिका–२ की ८६ वर्षीया वृद्धा कृष्णा कुवँरको आँखा बन्द भएपछि बुढेशकालको जीवन निकै कष्टपूर्ण रह्यो ।

एक जीवनमा सहज उपचारको मेसो नमिलेका कारण लामो समय पीडा खेप्नु भएकी कुवँर गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेर आँखा देख्ने हुनुभयो । उहाँले भन्नुभयो,“‘मैले आँखा देखौँला भनेर कल्पना पनि गरेकी थिइन । बाँचेपछि सबै देख्न पाइने रहेछ । भगवानसँग आँखा देख्दा–देख्दै मर्न पाइयोस् भनेर कामना गरेकी छु ।”

इस्मा गाउँपालिका–३ दर्लामचौरकी ९७ वर्षीया रत्नकला खरालले समेत शल्यक्रियापछि आँखा देख्न थाल्नुभयो । दाहिने आँखा बन्द भएको लामो समयपछि देब्रे आँखा पनि नदेख्ने रत्नकलाले शल्यक्रिया गर्नुभएको थियो ।

गुल्मीका आठ स्थानीय तहले आफ्ना नागरिकको मोतियाबिन्दुको शल्यक्रियाको उपचार निःशुल्क गर्ने गरेका छन् । नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्रमा मासिक रुपमा नियमति ११ र १२ गते शल्यक्रिया हुँदै आएको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा अनुन्धान केन्द्रका डाक्टरहरु मार्फत बिरामीहरुको उपचार र शल्यक्रिया हुने गरेको छ ।

अहिलेसम्म रेसुङ्गा नगरपालिका, इस्मा गाउँपालिका, गुल्मीदरवार, छत्रकोट, धुर्कोट, सत्यवति, रुरुक्षेत्र र चन्द्रकोट गाउँपालिकाले मोतियाबिन्दुको शल्यक्रिया हुँदा लाग्ने नागरिकको ७ हजार रुपियाँ व्यहोर्ने गरेको नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्र गुल्मीका सूचना अधिकारी बिरबहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार मुसिकोट नगरपालिकाले आँखा उपचारको बिलका आधारमा भुक्तानी गर्ने गरेको छ । त्यस्तै मालिका, मदाने, रुरु, कालिगण्डकी र मुसिकोट नगरपालिकाले आँखा उपचार केन्द्रहरुमा जनशक्ति व्यवस्थापन र कार्यालय व्यवस्था तर्फ सहयोग गर्दै आएको कार्कीले बताउनुभयो ।

जिल्लाका १२ ओटै स्थानीय तहले आँखा उपचार केन्द्रसँग समन्वय गरेर शिविर सञ्चालन गर्दा दुर्गममा बर्षौसम्म आँखाको समस्या झेलेर बसेकाहरु पनि उपचारको पहुँचमा आउन थालेको नेपाल नेत्रज्योति संघका सचिव पदम प्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्रका अनुसार वार्षिक ३३ हजारको आँखा परीक्षण तथा ५ सय बढी मोतियाबिन्दुको शल्यक्रिया गर्ने गरिएको छ । २०८१ साउन १ गतेबाट नेपाल नेत्र ज्योति संघ पनि स्वास्थ्य बिमामा आवद्ध भएको छ । धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले आँखा उपचारको पहुँच सहज बनाउन नेत्रज्योतिसँग सम्झौता गरेकाले अब पीडा खेपेर घरमा नबस्न नागरिकलाई आग्रह गर्नुभयो । यो वर्ष धुर्कोट, छत्रकोटसँगै चन्द्रकोट गाउँपालिकाले नेत्रज्योति संघसँग सम्झौता गरेका छन् ।

टोपलाल अर्याल

अन्य

भिडियो