डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझामाथि ०८२ पुस २३ गते धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरुले कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार गरेका छन् ।
कमिसनको लोभमा अस्पतालका स्वास्थ्य उपकरण जानाजानी बिगारेर नयाँ उपकरण खरिद प्रक्रियामा लैजाने र यसमार्फत लाखौँ रुपियाँको भ्रष्टाचार गर्ने गरेको, जनस्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा दक्ष र अनुभवी जनशक्तिबाट गुणस्तरीय सेवा प्रवाह गर्नुको सट्टा कर्मचारी भर्नामा आर्थिक चलखेल गरी अस्पताललाई राजनीतिक भर्तिकेन्द्र बनाइएको, अध्यक्ष पदमा तेस्रो कार्यकाल पूरा गर्न लाग्दा पनि अस्पतालको आय–व्यय विवरण सार्वजनिक नगरेको, आसेपासेलाई कोटेसन दिलाई कमिसन खाने गरेको, भ्रष्टाचार गरेको, अस्पतालमा थुप्रै स्थायी दरबन्दी रिक्त रहँदा पनि स्थायी कर्मचारी नियुक्ति नगरी आर्थिक र राजनीतिक चलखेलका आधारमा करार तथा ज्यालादारी (डोरहाजिर) कर्मचारी भर्ना गरी जनस्वास्थ्यसँग गम्भीर खेलवाड गरिएको लगायतका आरोपमा जनकारबाही गरिएको कम्युनिस्ट युवा सङ्गठन नेपाल, डडेल्धुराका अध्यक्ष क.सहविरद्वारा हस्ताक्षरित आरोपत्रमा उल्लेख छ ।
पीडित पक्षबाट हालसम्म उजुरी नआएको भए पनि सिसिटिभी फुटेज चेकजाँच गरी घटनामा संलग्नहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बरुणबाहादुर सिंहले बताउनु भयो ।