INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीद्वारा प्रदर्शन

इनरुवा नगरपालिका–२ स्थित राजाजी माध्यमिक विद्यालयका लेखा कर्मचारी ३९ वर्षीय सुरेश मेहताले कक्षा आठदेखि कक्षा १० सम्मका छात्राहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले पुस २१ गतेदेखि सुरु गरेको प्रदर्शन पुस २२ गतेसमेत जारी राखेका छन् ।

प्रदर्शनका क्रममा विद्यार्थीहरुले विद्यालय बन्द गराएर इनरुवा नगरपालिका कार्यालय, बस चौक र जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । पुस २२ गते विद्यालय छाडेर छिमेकी विद्यालय बाल मन्दिर माविमा तोडफोड, इनरुवा नगर घेराउ र बस चौकमा केही बेर चक्काजाम गरेका छन् । पुस २२ गते दिनभर नै विधार्थीहरुले नाराबाजी गरेका छन् ।

कक्षा आठदेखि कक्षा १० सम्मका छात्राहरुलाई एकपछि अर्को यौन दुर्व्यवहार गरेको पीडित छात्राहरुको आरोप छ ।

कक्षा आठकी एक छात्राले बार्षिक परीक्षा पास गराइदिने भन्दै म्यानेनजरमा यौन प्रस्ताव राखेको, परीक्षा फारम भर्न गएकी कक्षा नौमा अध्ययनरत १५ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको पीडित छात्राहरुको आरोप छद ।

बालिकाहरुले कर्मचारी मेहताले एक्लै बोलाएर सम्वेदलनशील अङ्ग छोएर र अश्लिल कुरा गर्दै यौन दुर्व्यवहार गरेको आरोप छ ।

घटनाको विषयमा लिखित उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको डिएसपी चन्द्रबहादुर खड्काले बताउनु भयो ।

विद्यार्थीहरुले प्रदर्शन थालेपछि आरोपित फरार भएको र खोजी भइरहेको डिएसपी खड्काले बताउनु भयो ।

यौन दुर्व्यवहारको घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले घटनाको बारेमा प्रारम्भिक अनुसन्धान थालेको छ ।

अभिभावक र विद्यार्थीबाट मेहताका बारेमा गुनासो आएपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसेको र आरोपित मेहतासँग स्पस्टीकरण सोधिएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बौधनारायण मेहताले विद्यार्थीबाट आरोप लगाइएका लेखा कर्मचारीको चरित्र र व्यवहार नराम्रो भएको गुनासो आएकाले के भएको बारेमा पुस २० गतेको बैठकबाट स्पष्टीकरण मागेको बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक रामसागर मेहताले विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सम्बन्धित लेखा कर्मचारी मेहतासँग स्पष्टीकरण सोधिएको बताउनु भयो  । घटनाका बारेमा ०८२ पुस १४ गते आधिकारी रुपमा गुनासो आएकोले पुस २० गते ७२ घण्टाभित्र स्पष्टीकरण नआएमा विद्यालयले गर्न सक्ने कारबाही गर्ने तयारी भएकोमा विधार्थीहरु पुस २१ गतेदेखि आन्दोलनमा उत्रिएको बताउनु भयो ।

हाल आरोपित कर्मचारी विद्यालयको सम्पर्कमा नआएको प्रधानाध्यापक रामसागर मेहताले बताउनु भयो । पुस २२ गते दिनभर विद्यार्थीहरुले आन्दोलन चर्काएको र शिक्षकहरुलाई विद्यालयको मुख्य प्रवेश द्वारमा तालबन्दी गरी परिसरमै दिनभर थुनिएको बताउनु भयो ।

विद्यार्थी सञ्जिव शर्माले आरोपितलाई गिरफ्तार नगरेसम्म आन्दोलन जारी रहने बताउनु भयो ।

इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले आरोपित कर्मचारीलाई निलम्बन गर्ने तयारी भएकाले तत्काललाई आन्दोलन रोक्न आग्रह गर्नु भएको छ ।

जयकृष्ण यादव

अन्य

भिडियो