आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा २ लाख ५४ हजार ३ सय ९७ मतदाता कायम भएका छन् । दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा पुरुष मतदाताको सङ्ख्या १ लाख २३ हजार ४ सय ९१ र महिला मतदाताको सङ्ख्या १ लाख ३० हजार ९ सय ६ जना रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १ लाख ३६ हजार १ सय १८ मतदाता रहेका छन् । त्यसैगरी क्षेत्र नम्बर २ तर्फ १ लाख १८ हजार २ सय ७९ मतदाता कायम भएका छन् । तनहुँका १० पालिकामध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम मतदाता देवघाट गाउँपालिकामा रहेका छन् ।
क्षेत्र नम्बर १ को व्यास नगरपालिकामा ५१ हजार ३ सय ६, भानु नगरपालिकामा ४२ हजार १ सय ४, आँबुखैरेनी गाउँपालिकामा १४ हजार ६२, देवघाट गाउँपालिकामा १२ हजार ६ सय ४४, बन्दीपुर गाउँपालिकामा १६ हजार २ मतदाता रहेका छन् ।
यसैगरी क्षेत्र नम्बर २ को शुक्लागण्डकी नगरपालिकामा ४० हजार ३ सय ५, भीमाद नगरपालिकामा २५ हजार ३ सय ११, ऋषिङ गाउँपालिकामा १८ हजार ७ सय ४४, घिरिङ गाउँपालिकामा १४ हजार ६ सय १३, म्याग्दे गाउँपालिकामा १९ हजार ३ सय ६ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले बताउनु भयो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार तनहुँ जिल्लामा ३ सय ९ मतदान केन्द्र रहेको छ । ऋषिङ गाउँपालिका–४ र ६ मा एक÷एक मतदान केन्द्र रहेकामा यसपटक थप एक÷एक मतदान केन्द्र थप भएको छ ।